रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई नेशनल लघुवित्त संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि आठबिसकोट नगरपालिकालाई आज ४ लाखको चेक हस्तान्तरण गरेको हो । नेशनल लघुवित्तका कार्यकारी निर्देशक रामबहादुर यादवले नगर प्रमुख रबि केसीलाई चेक हस्तान्तरण गर्नुभयो ।
भूकम्पबाट प्रभावित भएका नगरवासीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कार्यकारी निर्देशक यादवले जानकारी दिनुभयो । लघुवित्तले ग्रामीण वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । संस्थाले हाल दुई सय ६ वटा शाखा कार्यालय मार्फत ७४ जिल्लाका दुई लाख ५० हजार घर धुरीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।
नेशनल लघुवित्त संस्थामा आबद्ध तीन सय १२ जना सदस्यहरू प्रभावित भएकोले मानवीय तथा भौतिक क्षतिको आधारमा केही दिनमा नगद राहत वितरण गरिने संस्थाका आठबिसकोट शाखा प्रमुख शेरबहादुर कँवरले जानकारी दिनुभयो । नेशनल लघुवित्त संस्थालाई नगर प्रमुख केसीले धन्यवाद व्यक्त गर्नुका साथै प्राप्त रकम भूकम्प प्रभावितलाई बाँड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।