Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रमुख प्रशासकीय अधिकृत नहुँदा भूकम्प पीडितले पाएनन् पहिलो किस्ता 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा भूकम्प पीडितले अझै अस्थायी आवासका लागि पहिलो किस्ता पाउन सकेका छैनन् । जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर भूकम्प गएको करिब दुई महिना पुग्न लाग्दा पनि बाँफिकोटमा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन नसकेका हुन् । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक हजार ६ सय ९९ लाभग्राहीको लागि पहिलो किस्ता बापत २५ हजारका दरले चार करोड २४ लाख ७५ हजार रकम पठाइसकिएको छ ।

तर पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिलेसम्म पनि रकम निकासा सुरु हुन सकेको छैन । यसबारेमा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली सुरुवा भएर गएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।

यसबारेमा प्रशासन गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाई छ । ‘प्रशासनको तर्फबाट हामीले गर्नुपर्ने भनेको सम्बन्धित निकायमा जानकारी गराउने नै हो । प्रमुख प्रशासकीय अधिकृत कहिले आउने, लाभग्राहीले किस्ता कहिलेसम्म पाउँछन् भनेर हामीले भन्न सक्ने कुरा भएन । यस विषयमा पालिकालाई नै थाहा होला’ उहाँले भन्नुभयो ।

बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले पहिले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्रै सरुवा भएकाले लाभग्राहीलाई किस्ता दिन समस्या भएको बताउनुभयो । पालिकाले मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत माग गरी पठाएको उहाँको भनाई छ । अख्तियारी आउन ढिला भएको उहाँले बताउनुभयो ।

मन्त्रालयबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कामको जिम्मेवारी दिएर काम अगाडी बढाउन भनेकाले कार्यपालिकाको बैठक बसेर भोली नै निर्णय गर्ने उपाध्यक्ष बुढा केसीले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिकामा हाससम्म पहिलो किस्ता प्राप्त नगरे पनि आफ्नै खर्चमा एक सय १७ अस्थायी आवास निर्माण भएका छन् । ४० वटा अस्थायी आवास निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update