अन्तर स्थानीय तह समन्वय र सहकार्य बिस्तारका लागि बागचौर नगरपालिका सल्यान र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका कर्मचारी बिच भएको त्रिकोणात्मक मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम त्रिवेणीले जितेको छ । समग्रमा २-१ ले त्रिवेणी विजयी भएको हो । प्रतियोगिता पौष १४ र १५ गते त्रिवेणी ६ स्थित दहबाङ खेल मैदानमा सञ्चालन भएको हो । कुल तीन खेल खेलिएकोमा २ खेल जित्दै त्रिवेणी गाउँपालिकाको कर्मचारी टिमले उपाधि जितेको हो ।
पहिलो खेलमा त्रिवेणी विजयी भएकामा दोस्रोमा बागचौर विजयी भएको थियो । आज भएको अन्तिम तथा निर्णायक खेलमा त्रिवेणी विजयी हुँदै उपाधि जित्न सफल भएको हो । पहिलो खेलमा बागचौर नगरपालिकाले दिएको १२५ रनको लक्ष्य त्रिवेणी गाउँपालिकाले १८.४ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको थियो । ४ विकेटले विजयी भएको उक्त खेलमा त्रिवेणी गाउँपालिकाका कप्तान सिपी रावलले बलिङ तर्फ ४ विकेट लिएका थिए भने ब्याटिङ तर्फ अविजित ५३ रनको उत्कृष्ट पारी खेल्दै टिमलाई जिताएका थिए ।
दोस्रो खेलमा भने बागचौर नगरपालिका ४० रनले विजयी भयो । पहिला ब्याटिङ गरेको बागचौरले त्रिवेणीलाई १६८ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रेको त्रिवेणी गाउँपालिकाले पुरै ओभर खेल्दै १२८ रनमा समेटिएको थियो । उक्त खेलमा बागचौर नगरपालिकाका हेमराज बस्नेतले ७३ रनको उत्कृष्ट अर्ध शतकीय पारी खेलेका थिए ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा त्रिवेणीले १ विकेटको रोमाञ्चक जित निकाल्यो । बागचौर नगरपालिकाले दिएको ६६ रनको सामान्य लक्ष्य पुरा गर्न त्रिवेणीले ९ विकेट गुमायो । त्रिवेणीले १२.५ ओभरमा लक्ष भेटाएको थियो ।
प्रतियोगितामा १ सय १ रन बनाएका बागचौर नगरपालिकाका हेमराज बस्नेत उत्कृष्ट ब्याटर र ९ विकेट लिएका त्रिवेणी गाउँपालिकाका कप्तान सिपि रावल उत्कृष्ट बलर बने । उत्कृष्ट ब्याटरलाई ब्याट र बलरलाई बल पुरस्कार तथा विजेता टिमलाई कप प्रदान गरिएको आयोजक त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।
एक कार्यक्रमका बिच खेलको समापन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको प्रमुख र त्रिवेणी ६ का अध्यक्ष भद्रबहादुर सिर्पालीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केसीले खेलकुद क्षत्रमा क्रिकेट निकै अनुशासित र रोमान्चक खेल भएकाेले ग्रामिन क्षत्रमा यसको विकासमा जोड दिनुभयो । भौतिक पूर्वाधारको अभावमा गाउँ गाउँमा क्रिकेटको विकास गर्न नसिकिएको उहाँको भनाई थियो । कर्मचारीका बिचमा भएको मैत्रीपूर्ण खेलले क्रिकेटलाई ग्रामीण स्तरमा स्थापित गर्न भूमिका खेलेको उहाँको भनाई थियो ।