Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपाले बनायो दुई सय तीन वटा अस्थायी आवास 
रास्वपाले निर्माण गरेकाे अस्थायी आवास ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावित क्षेत्रमा दुई सय बढी अस्थायी आवास निर्माण गरेको छ । रुकुम पश्चिम र जाजरकोटमा गरी रास्वपाले दुई सय तीन वटा अस्थायी आवास निर्माण गरेको हो । आज रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले यस बारेमा जानकारी गराएको छ । 

मृतक परिवार, अपाङ्ग, एकल महिला, सुत्केरी, ज्येष्ठ नागरिक, वृद्ध वृद्धालाई प्राथमिकता दिएर अस्थायी आवास निर्माण गरिएको रास्वपाले जानकारी दिएको छ । पार्टीका कर्णाली प्रदेश इन्चार्ज पवनराज देवकोटाका अनुसार आजसम्म दुई जिल्लामा मृतक परिवारका लागि २०, अपाङ्गका लागि २०, एकल महिलाका लागि २८, सुत्केरीका लागि २१, ज्येष्ठ नागरिकका लागि २० र दीर्घ रोगीका लागि तीन वटा अस्थायी आवास निर्माण गरिएको हो । 

त्यस्तै बाँकी अस्थायी आवास रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ को गोलचौर र जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को ठुलाबगरलाई नमुना बस्ती मानेर निर्माण गरिएको प्रदेश इन्चार्ज देवकोटाले बताउनुभयो । 

416053462_7649014728461083_4007107103332535158_n1704093387.jpg

भूकम्पबाट आफन्त र सम्पत्ति गुमाई अन्योलतामा रहेका गाउँ बस्तीलाई आफ्नो घर आफै बनाऔँ भन्ने अभियान सञ्चालन गर्न समुदायलाई परिचालन गरेको र स्थानीय स्रोत साधनको प्रयोगबाट अस्थायी आवास निर्माणको मोडल दिन आफूहरू सफल भएको उहाँको भनाई छ । 

जसबाट अस्थायी आवास निर्माणका लागि सकारात्मक प्रतिस्पर्धा हुने अवस्था सुरु भएको उहाँले बताउनुभयो । अस्थायी आवास निर्माणका साथै रास्वपाले रुकुम पश्चिम र जाजरकोटमा शिविर मार्फत दुई हजार सात सय जनालाई स्वास्थ्य सेवा, बालबालिका र अभिभावक गरी तीन सय ३७ जनालाई न्यानो कपडा र खानेकुरा, अस्पतालमा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

त्यस्तै जाजरकोटमा तीन सय ९६ जनालाई न्यानो कपडा, भेरी, नलगाड नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाका एक सय २१ जना सुत्केरी तथा गर्भवती महिलालाई न्यानो कपडा र आठबिसकोट नगरपालिका १३ का २२ घर परिवारलाई डसना वितरण गरिएको समेत रास्वपाले जानकारी गराएको छ ।

415921291_7649014461794443_5718564632602397404_n1704093384.jpg

भग्नावशेष हटाउने, मरेका पशु पंक्षी व्यवस्थापन गर्ने देखि सुरुमै जिल्ला विपत् व्यवस्थापन समितिलाई राहतका सामग्री उपलब्ध गराउने काम पनि गरिएको पार्टीको भनाई छ । पार्टीका तर्फबाट प्रदेश इन्चार्ज देवकोटा सहित रास्वपा नेता पुस्तक चन्द, पार्टीका कर्णाली प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख इन्जिनियर मानबहादुर शाही, विदेश विभागका सदस्य रत्नबहादुर विश्वकर्मा लगायतको टोली खटिएको बताइएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा पार्टीका सभापति रवि लामिछानेका साथै सांसद डा. तोषिमा कार्की नेतृत्वको स्वास्थ्यकर्मीको टोली समेत आएर एक महिना भन्दा बढी सेवा गरेको पार्टीले जनाएको छ ।

416091239_7649014741794415_2491520368791585472_n1704093385.jpg

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update