Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अस्थायी आवास निर्माण सुस्त, जम्मा २६ प्रतिशत आवास निर्माण  
भूकम्प प्रभावित क्षत्रमा निर्माण भएका अस्थायी आवास ।

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति गरेको रुकुम पश्चिममा अस्थायी आवास निर्माण सुस्त देखिएको छ । भूकम्प गएको दुई महिनामा जिल्लामा सात हजार ७९ अस्थायी आवास निर्माण भएका छन् । जिल्लामा हालसम्म जम्मा २६.४० प्रतिशत मात्र अस्थायी आवास निर्माण भएका छन् । हालसम्म जिल्लाभर कुल २६ हजार आठ सय पाँच घर बस्नै नमिल्ने गरी भत्किएको प्रहरी मुचुल्का तयार भएको छ ।

उक्त सबै घरका लागि अस्थायी आवास आवश्यक रहेकोमा हालसम्म कुल क्षतिग्रस्त घर मध्ये जम्मा २६.४० प्रतिशत मात्र अस्थायी आवास निर्माण भएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्क छ । समितिका अनुसार हाल सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा तीन हजार ४२ अस्थायी आवास निर्माण भएका छन् ।

सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ वटा अस्थायी आवास बनेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिकामा दुई सय ६४, आठबिसकोट नगरपालिकामा तीन हजार १४, त्रिवेणी गाउँपालिकामा ६ सय १७ र बाँफिकोट गाउँपालिकामा एक सय १७ अस्थायी आवास निर्माण भएका छन् । त्यस्तै जिल्लाभर नौ हजार तीन सय ४१ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।

हालसम्म अस्थायी आवास निर्माण गर्नको लागि जिल्लाभर २३ हजार ६ सय आठ लाभग्राहीको लागि २५ हजारका दरले ५९ करोड दुई लाख पहिलो किस्ता बापत जिल्लाबाट स्थानीय तहको कोषमा पठाइसकिएको ५ । जसमध्ये १९ हजार सात सय १७ लाभग्राहीले २५ हजारका दरले ४९ करोड २९ लाख २५ हजार रकम पाइसकेका छन् । तर अस्थायी आवास निर्माणमा भने सुस्तता देखिएको छ ।

आठबिसकाेट नगरपालिकाका प्रमुख रवि केसीले अस्थायी आवासका लागि धमाधम किस्ता निकासा गरिसकेको र फटाफट आवास निर्माणका लागि लाभग्राहीलाई अनुरोध गरिरहेको बताउनुभयो । निकासका हिसाबले अहिले कुनै समस्या नभए पनि निर्माणका सम्बन्धमा ढिलाइ भइरहेको सरकारलाई महसुस भएको उहाँको भनाई छ । कसैले जस्ता पाएनौ, कसैले कामदार भेटिँदैनन् जस्ता जवाफ दिने गरेको उहाँले बताउनुभयो । यसमा सरकारको तर्फबाट सहजिकरण गरिरहेको नगर प्रमुख केसीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update