
भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको दलोघाटीमा मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ उल्नेचौरका १७ वर्षीय भिमसेन बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २० वर्षीय सोनु थापा मगर गम्भीर घाइते हुनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बुढाथोकीको उपचारको क्रममा जिल्ला अस्पताल सिम्लामा हिजो बिहान मृत्यु भएको स्थानीय नदिराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते दाङका २० वर्षीय थापामगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै जना रोजगारीको सिलसिलामा भारत पुगेका थिए । बुढाथोकी विगत ३ वर्षदेखि बुबाआमासंगै सिम्ला जिल्लाको भरना भन्ने ठाउँ बस्दै आउनुभएको थियो । बुबाआमा तिहार मनाउन घरमा आएपछि भने बुढाथोकी एक्लै बस्दै आउनुभएको थियो । घरपरिवार नभएकोले बुढाथोकीको शव अस्पतालमै राखिएको स्थानीय खड्काले जानकारी दिनुभयो ।