जाजरकोट भूकम्प गएको आज दुई महिना पुरा भएको छ । गत कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्कलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५४ जनाको मृत्यु भएको थियो । जसमा जाजरकोटका एक सय एक र रुकुम पश्चिममा ५३ जना रहेका छन् ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम सहित सल्यान लगायतका जिल्लामा पनि भौतिक क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिममा मात्र ६० हजार बढी घर बस्नै नमिल्ने गरी भत्किएको विवरण छ । यद्धपि विवरण संकलन अझै जारी रहेको छ ।
भूकम्प गएको दुई महिना पुग्दा पनि अधिकांश भूकम्प प्रभावित अझै पनि पाल मै रहेका छन् । रुकुम पश्चिममा अहिलेसम्म सात हजार ७९ वटा अस्थायी आवास निर्माण भएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्यांक छ । नौ हजार तीन सय ४१ अस्थायी आवास निर्माणको चरणमा रहेको समितिको भनाई छ ।
अस्थायी आवास निर्माणका लागि संघबाट जिल्लामा हालसम्म ८४ करोड बजेट प्राप्त भइसकेको छ । दोस्रो किस्ता समेतका लागि जिल्लाले थप ६८ करोड बजेट माग गरेर पठाएको जनाएको छ । जिल्लाबाट ५९ करोड रुपैयाँ पहिलो किस्ता बापत स्थानीय तहको कोषमा पठाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बुढावाल बताउनुहुन्छ ।
उहाँका अनुसार उक्त बजेट मध्ये स्थानीय तहले ४९ करोड २९ लाख २५ हजार लाभग्राहीको खातामा पठाइसकेका छन् । जिल्लामा २५ हजारका दरले पहिलो किस्ता पाउने लाभग्राही १९ हजार ७ सय १७ परिवार रहेका छन् । जिल्लाबाट भने २३ हजार ६८ परिवारका लागि स्थानीय तहको खातामा पैसा गइसकेको छ ।
हालसम्म जिल्लामा करिब २७ हजार लाभग्राही पहिचान भएको र लाभग्राहीको संख्या साढे ३० हजार पुग्ने अनुमान रहेको बढुवालको भनाई छ । माग गरेको ६८ करोड बजेट प्राप्त भयो भने सबै लाभग्राहीलाई दोस्रो किस्ता समेत वितरण गर्न पुग्ने उहाँले बताउनुभयो ।
अन्य स्थानीय तहको तुलनामा बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा पहिलो किस्ता वितरणमा ढिलाई भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी गराउनुभयो । बाँफिकोटमा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण दुई महिनासम्म पनि लाभग्राहीले पहिलो किस्ता पाउन सकेका छैनन् ।
यद्धपी सोमबारको गाउँ कार्यपालिका बैठकले १७ सय ५३ लाभग्राहीलाई पहिलो किस्ता निकासा गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालसंग गरिएको कुराकानी एक छिन पछि राख्ने छौं ।