रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा मात्र डेढ अर्ब लाग्ने भएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले क्षति गरेका घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न एक अर्ब ५२ करोड आवश्यक देखिएको हो । जिल्लाभरमा साढे ३० हजार लाभग्राही रहेको अनुमान गरिएको छ ।
अहिलेसम्म २७ हजार पाँच सय ३८ लाभग्राहीको प्रहरी मुचुल्का तयार भएको र यो सङ्ख्या अझै बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । जिल्लामा अस्थायी आवास निर्माणका लागि डेढ अर्ब बजेट आवश्यक देखिएको उहाँले बताउनुभयो ।
सुरुमा ५० करोड र त्यसपछि ३४ करोड गरी जिल्लामा हालसम्म ८४ करोड आइसकेको उहाँको भनाई छ । उहाँका अनुसार अब जिल्लामा ६८ करोड रकम आवश्यक रहेको छ । उक्त रकम सङ्घीय सरकारसँग माग गरिएको छ ।
‘हामीले जिल्लामा साढे ३० हजार लाभग्राही पुग्ने अनुमान गरेका छौँ, हालसम्म जिल्लामा ८४ करोड रकम आइसकेको छ, अब ६८ करोड माग गरेका छौँ, उक्त रकम आयो भने दोस्रो किस्ताका लागि समेत पुग्छ, सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले भन्नुभयो ।’
माग गरेको ६८ करोड प्राप्त भएमा ३० हजार चार सय लाभग्राहीलाई ५० हजार दिन पुग्ने उहाँले बताउनुभयो । यति बेला अस्थायी आवासका लागि पहिलो किस्ता वितरण भइरहेको छ । अहिलेसम्म जिल्लाबाट ५९ करोड २ लाख रकम स्थानीय तहमा पठाइसकिएको छ । स्थानीय तहले पनि धमाधम लाभग्राहीलाई पहिलो किस्ता दिइरहेका छन् ।