Kakhara सबैको खबर सम्पूर्ण खबर

जाजरकोट भूकम्पको मङ्गलवार दुई महिना पुरा भएको छ । भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा एक सय ५४ जनाको मृत्यु भएको छ भने हजारौँ घर ध्वस्त भएका छन् । उद्धार, उपचार, राहत लगायतका काम सम्पन्न भई यति बेला अस्थायी आवास निर्माण क्रम चलिरहेको छ । भूकम्प गए लगत्तै स्थानीय देखि प्रदेश र सङ्घ सरकार उद्धार, उपचार र मृतकको व्यवस्थापनमा कन्द्रित भए । भूकम्प गएको दुई महिना पुग्दा स्थानीय तहहरू अब एक खालको राहत महसुस गर्ने अवस्थामा आइपुगेको बताउँछन् । 

उद्धार, उपचार र एक खालको राहत व्यवस्थापनको अवस्थालाई पार गरिसकेको र अस्थायी आवासको समस्या पनि लगभग अब हल हुँदै गइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाई छ । स्थानीय तहहरूले अब पुनर्निर्माणको पाटोसँग केन्द्रित रहेर राहतको आवश्यकता रहेको बताइरहेका छन् ।अहिलेसम्म सरोकारवाला निकाय समेतको सहयोगमा अघि बढेको बताउने स्थानीय तहले अब कस्तो खालको राहतको अपेक्षा गरिरहेका छन् त ? हामीले आठबिसकोट नगरपालिका प्रमुख रवि केसीसँग कुराकानी गरेका छौँ । उक्त कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरेका छौँ । 

गत कात्तिक १७ गते राती जाजरकोटको रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकामा ठुलो जन धनको क्षति गर्‍यो । उक्त भूकम्पमा परी नगरपालिकामा ४४ जनाको मृत्यु भएको थियो । भने एक सय १७ जना घाइते भएका थिए । नगरपालिका भर नौ हजार नौ सय ६३ घरहरूमा क्षति पुर्यायाे। सार्वजनिक भवन अन्तर्गत ५४ वटा सामुदायिक विद्यालय, १७ वटा खानेपानीका आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। त्यस्तै २१ वटा सिँचाई कुलो, प्रहरी चौकी, स्वास्थ्य चौकी लगायत नगरपालिकामा १४ वटा सडक खण्डहरूमा क्षति पुगेको छ । नगरपालिका भर करिब एक करोड ४० लाख बराबरको अन्नपातमा क्षति पुगेको छ । ६ सय ७० पशु चौपाया मरेका छन् । ‘भूकम्पको केन्द्र विन्दु भएको जाजरकोट जिल्लाको नजिकैको क्षेत्र भएकाले पनि नगरपालिकामा ठुलो क्षति हुन पुग्यो । भूकम्प गइसकेपछि पहिलो प्राथमिकतामा राखेर घाइतेहरूको उद्धार गयौँ, रातारात उद्धार गरेर हामीले भूकम्प गएको भोलिपल्ट बिहान सात बजेसम्म उद्धार गरिसकेका थियौँ । मृतकको पहिचान सँगै घाइतेहरूको नगर अस्पताल राडी तथा यहाँ सम्भव नभएकालाई जिल्ला बाहिर पठाएर उपचार गर्न सफल भयौँ । केही घाइतेहरूको उपचार अहिले पनि जारी छ।

Rabi Kc11704284390.jpg

नगरपालिकाको तर्फबाट मृतक परिवारलाई केही आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले प्रति परिवार २५ हजारका दरले रकम उपलब्ध बनायौँ । त्यस पश्चात् विभिन्न सङ्घसंस्था, बिमा, नेपाल सरकारले उपलब्ध बनाएको रकम पनि मृतक परिवारलाई प्रदान गरिसकेका छौँ । पहिलो चरणमा भूकम्प पीडितलाई त्रिपाल आवश्यक रहेकाले त्रिपालको पुर्‍यायौँ । त्यस पछि आवश्यकताका आधारमा खाद्यान्न तथा लत्ताकपडा पुर्‍यायौँ । सङ्घ, प्रदेश अन्य सहयोगी संस्थाहरूले उपलब्ध बनाएको राहत एक द्वार प्रणाली मार्फत भूकम्प पीडित परिवारलाई जतिसक्दो छिटो पुर्‍याउने प्रयास गयौँ । सङ्घीय सरकारले कार्यविधि बनाउन केही समय लागेकाले लाभग्राहीलाई पहिलो किस्ताको रकम दिन केही ढिला भए पनि हालसम्म नगरपालिकामा पहिचान भएका मध्य सात हजार लाभग्राहीले रकम प्राप्त गरिसकेका छन् । बाँकी लाभग्राहीहरूको लागि पनि जिल्ला विपत् व्यवस्थापन कोषमा माग गरी पठाएकाले रकम प्राप्त हुने बित्तिकै अस्थायी आवास निर्माणको लागि रकम लाभग्राहीलाई प्रदान गर्छौँ । नगरपालिका भर सङ्घसंस्था सहयोगी निकाय तथा पीडित आफैले पाँच हजार ६ सय १२ अस्थायी आवास निर्माण गरेर आवासमा बस्न सुरु भइसकेको छ ।

अस्थायी आवास तथा पुनः निर्माणमा अझै सहयोगको आवश्यकता छ । नगरपालिका भर ६४ वटा सामुदायिक विद्यालय रहेकाका भूकम्पले ५४ वटा विद्यालयहरूमा बस्नै नमिल्ने गरी क्षति पुर्‍यायो । ती विद्यालयमा पठनपाठन सञ्चालन गर्न अस्थायी सिकाई केन्द्र निर्माण गरेका छौँ । केही विद्यालयमा अझै त्रिपालबाटै पठनपाठन सञ्चालन भइरहेको छ । सबै भन्दा बढी क्षति पुगेका वडा नम्बर १३ र १४ का विद्यालयहरूमा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ ।

DSC049291704284421.jpg

अब नगरपालिकालाई खाद्यान्न भन्दा पुनः निर्माणमा जोडिनको लागि आर्थिक सहयोग सँगै, निर्माण गर्दा लाग्ने सामग्रीहरूको आवश्यकता छ । हाल विद्यालयहरूमा त्रिपालमै पठनपाठन सञ्चालन भएकाले अस्थायी सिकाई केन्द्र स्थापना गरी बालबालिकाको पठन पाठन सहज बनाउने गरी हामीले सोचेका छौँ । इच्छुकले यसमा सहयोग गर्नुहोला भन्न चाहन्छु । भूकम्पले सडकहरू ध्वस्त भएका छन् । मर्मत गर्न खोजिरहेका छौँ । खानेपानीका योजनाहरू पूर्ण रूपमा क्षति भएका छन् ती योजनाहरूलाई पनि बनाउन आवश्यक छ । यसको निम्ति नगरपालिकालाई सहयोग चाहिएको छ । भत्किएका सबै घरहरूमा शौचालय नहुँदा समस्या रहेको छ । केही अस्थायी शौचालय त्रिपाल प्रयोग गरेर निर्माण भए पनि एक दुई वर्षसम्म टिक्ने अस्थायी शौचालय आवश्यक छ । अस्थायी सिकाई केन्द्र, अस्थायी शौचालय सँगसँगै पुनः निर्माणको लागि सहयोग आवश्यक छ । राहत यतातिर केन्द्रित हुनुपर्छ । सोही अनुसार म दाताहरूलाई अनुरोध गर्छु । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update