विद्यालय कलिला बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने एउटा पवित्र संस्था हो । जहाँ विभिन्न समुदायबाट विभिन्न परिवेशमा हुर्केका बालबालिकाहरू अध्ययन गर्न आउँछन् । उनीहरूको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकास गर्नको लागि खेलकुद अपरिहार्य हुन्छ । एउटा कुशल, अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको जनशक्ति उत्पादन गर्न विद्यालयको भूमिका प्रमुख मानिन्छ । विद्यालय तहको पाठ्यक्रममा समावेश गरिएका खेलहरू र त्यसका अतिरिक्त खेलहरूलाई सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक क्रियाकलापहरू अनुसार अगाडी बढाउनु पर्दछ । भनिन्छ ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ । कुनै व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक स्वास्थ्यको लागि खेलकुद आवश्यक पर्दछ । त्यस्तै गौरव, शान, मान पहिचान स्थापित गर्न सक्दछ ।
खेलकुदको विकासमा विद्यालयको भूमिका
विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासमा विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू काँचो माटो जस्तै हुन, उनीहरूलाई विद्यालयले चाहे अनुरूप विभिन्न खेलहरूका आधारभूत सीपहरू, नियमहरू सिकाएर राम्रो खेलाडी उत्पादन गर्न सक्दछ । खेलकुदको विकासमा विद्यालयको भूमिकालाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।
–विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा खेलहरूलाई बढी ध्यान दिने ।
–अतिरिक्त क्रियाकलापलाई नियमित र अनिवार्य सञ्चालन गरिनुपर्ने ।
–विद्यालयमा गेम शिक्षकको व्यवस्था गर्ने ।
–विद्यार्थीहरूलाई पाठ्यक्रममा समावेश गरिएका खेलहरूको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सीप प्रदान गर्ने
–विद्यालयमा पर्याप्त मात्रामा खेल संरचना र खेलकुदका सामग्रीको व्यवस्था गर्ने ।
–बेला बेलामा विद्यार्थीहरूलाई खेलहरूको बारेमा प्रशिक्षण तालिम र गोष्ठीको आयोजना गर्ने
–विद्यालयमा खेल मनोविज्ञान, खेल विज्ञान र मानव गति विज्ञान सम्बन्धी कक्षाहरू विषय विशेषज्ञद्वारा सञ्चालन गर्ने
–विद्यालयमा अन्तरसदनात्मक र अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने
–राष्ट्रपति रनिङ शिल्ड नियमित र अनिवार्य बनाउने ।
खेलकुद विकासमा घर परिवारको भूमिका
–घर परिवारका अभिभावकले आफ्ना छोरा छोरीलाई आवश्यक पर्ने खेलकुदका सामग्रीहरू उपलब्ध गराउनु पर्ने ।
–खेलकुदमा आकर्षण गर्न आफ्ना छोरा छोरीलाई घरमा उपयुक्त वातावरण सिर्जना गर्ने ।
–बेला बेलामा विद्यालयमा आइ आफ्ना छोराछोरीको शैक्षिक उपलब्धिका साथ साथै अतिरिक्त क्रियाकलापमा सहभागिताको अनुगमन गर्ने ।
–घर परिवारमा खेलमय वातावरण बनाउने ।
–प्रशिक्षकद्वारा बेलाबेलामा सैद्धान्तिक र प्रयोगात्मक क्रियाकलापको लागि घरमा आमन्त्रण गर्ने ।
सरकारले के गर्नुपर्छ ?
बालबालिकालाई खेलकुदमा केन्द्रित गर्न हिन्दीमा एउटा उखान छ ‘पढोगे लिखोगे बनोगे नबाब, खेलोगे कुदोग बनोगे खराब’ । अर्थात् खेलकुदमा लाग्यौ भने तिमी र तिम्रो भविष्य छैन, ठुलो मान्छे बन्नका लागि पढ्नुपर्छ । यो सोचलाई सरकारले तोड्नु पर्छ । खेलकुदमा भविष्य छ भन्ने विश्वास सरकारले जगाउन आवश्यक छ । खेलकुद विकासमा सरकारको भूमिका प्रमुख मानिन्छ । जसलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
–आवश्यक पूर्वाधारको निर्माण ।
–पर्याप्त मात्रामा बजेट व्यवस्थापन ।
–बेला बेलामा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने ।
–प्रत्येक विद्यालयलाई आवश्यक पर्ने दक्ष जनशक्ति, बजेट, खेल सामग्रीहरू उपलब्ध गराउने ।
–बेलाबेलामा विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्ने ।
–विभिन्न खेलकुद सङ्घ सङ्गठनलाई सक्रिय बनाउने ।
निष्कर्ष
खेलकुद विकासको आधार स्तम्भ विद्यालय नै हो । कुनै पनि राज्यको लागि आवश्यक पर्ने दक्ष जनशक्ति, सशक्त, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प छैन । खेल क्षेत्रको विकासका लागि उर्वर भूमि विद्यालय नै हो भन्नेमा दुई मत हुन सक्दैन । विद्यालयबाट नै समाजको हरेक क्षेत्रमा आवश्यक पर्ने व्यक्तित्वहरू जन्मिने भएकोले खेलकुदको विकासका लागि विद्यालयलाई आधार स्तम्भको रूपमा विकसित गर्न सक्नुपर्दछ । यसमा घरपरिवार, समाज र सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा लगानी गर्ने हो भने मात्र राष्ट्रको शान र गौरव बढ्ने छ ।
लेखक रुकुम पूर्वकाे जनता मावि पाेखराका शिक्षक तथा जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका काेषाध्यक्ष हुनुहुन्छ ।