Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ६ मा वृहत् प्रजनन स्वास्थ्य शिविरबाट एक सय ८१ जनाले लिए सेवा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्प प्रभावितका लागि सञ्चालन गरिएको निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट एक सय ८१ जनाले सेवा लिएका छन् । गाउँपालिकाको वडा नम्बर ६ देउताखोलामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरबाट एक सय ८१ जनाले सेवा लिएका हुन् । 

भूकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन हुने गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलवार वडा नम्बर १ मा, बुधवार वडा नम्बर ५ र हिजो वडा नम्बर ६ मा शिविर सञ्चालन भएको हो । आज वडा नम्बर ९ मा स्वास्थ्य शिविर सञ्चालन हुने छ । त्यस्तै क्रमशः सबै वडाकामा शिविर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

शिविरमा महिलाहरूको पाठेघरको भिडिओ एक्स-रे गर्नुका साथै स्वास्थ्य चेक जाँच गर्ने गरिएको छ । औषधीको आवश्यकता रहेका महिलाहरूलाई औषधी पनि वितरण गर्ने गरिएको छ । गाउँपालिकाको समन्वयमा सञ्चालन भएको शिविरमा नेपाल परिवार नियोजन सङ्घ, नेपाल रेडक्रस सोसाइटी लगायतले आर्थिक सहयोग गरेका छन् ।  

शिविरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डाक्टर प्रकाश बुढाथोकी, जिल्ला अस्पताल सल्लेका डाक्टर सुशील पोख्रेल, वीर अस्पतालमा कार्यरत शोभाना थापा, स्त्रीरोग विशेषज्ञ डाक्टर अस्मिता पाठक, परिवार नियोजन सङ्घका वसन्त खनाल लगायतले सेवा दिइरहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update