एन.एल.जी इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम उप शाखाले पशु बिमा रकम हस्तान्तरण गरेको छ । बिमा गरेका गाई, भैँसी र बङ्गुर मरेपछि बिमा गरेका कृषकलाई बिमा रकम हस्तान्तरण गरिएको हो । हिजो त्रिवेणी गाउँपालिकाका ६ जना र आज मुसिकोट नगरपालिकाका १४ जना कृषक तथा एक सहकारीलाई बिमा रकम हस्तान्तरण गरिएको कम्पनीका रुकुम पश्चिम उपशाखा प्रमुख हेमराज बोहराले जानकारी दिनुभयो । बिमांक अनुसार कृषकलाई बिमा रकम हस्तान्तरण गरिएको हो ।
उहाँका अनुसार आज मुसिकोटका १४ जना कृषक र एक सहकारीलाई तीन लाख १५ हजार बिमा रकम वितरण गरिएको हो । कममा १३ हजार पाँच सय देखि बढीमा ९० हजारसम्म हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । बिमांक रकमको ९० प्रतिशत बिमा रकम प्रदान गर्ने प्रावधान रहेकामा सोही अनुसार चेक हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
मुसिकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिनेश खड्का र मुसिकोट पशु शाखा प्रमुख सरस्वती सापकोटाले कृषकलाई बिमा रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बिमा रकम पाउनेमा मुसिकोट २ का गणेश खड्का, ११ की खीमा पुन राना, १ कि तिला खत्री, मुसिकोट ५ की आइतराम खत्री, ७ का हुकुमबहादुर पाण्डे, १० को छवि बहुउद्देश्यीय सहकारी संस्था, १४ कि मिना विष्ट र ८ कि नन्दकुमारी गिरी रहेको बताइएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिकाका ६ जना कृषकलाई चार लाख ६८ हजार रकम वितरण गरिएको हो । जर्सि गाई मरेका पाँच जना किसानलाई ९० हजारका दरले र बङ्गुर मरेका एक किसानलाई १८ हजार बिमा रकम उपलब्ध गराइएको उपशाखा प्रमुख बोहराले जानकारी दिनुभयो ।
बोहराले पशु पालक कृषकहरूका लागि बिमा कार्यक्रम वरदान रहेको बताउनुभयो । यसको महत्त्व नबुझ्दा धेरै कृषकले पशु बिमा नगरेको र धेरै क्षति बेहोर्नु परिरहेको अवस्थामा बिमा गरेमा क्षतिलाई कम गर्न सकिने बताउनुभयो । यसका लागि स्थानीय सरकारले नै सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।