रुकुम पश्चिममा गत पुस ५ गते देखि सञ्चालन भएको दादुरा रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सम्पन्न भएको छ । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरेको खोप अभियान ११ दिनसम्म सञ्चालन भएर पुस १५ गते सम्पन्न भएको हो । पुस ५ गतेदेखि १४ सम्म विशेष खोप अभियान तालिका भए पनि छुटेका व्यक्तिहरूलाई १५ गते स्वास्थ्य सेवा कार्यालयमा खोप दिएर खोप अभियान सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर एक लाख चार हजार ६ सय सात जना व्यक्तिले खोप लगाएका छन् । लक्ष्य भने एक लाख २४ हजारलाई खोप दिने राखिएको थियो । कुल खोप पाउनेमा ६ महिना देखि १५ वर्ष मुनिका ५० हजार तीन सय ७८ बालबालिकाले दादुरा रुवेलाको खोप लगाएका छन् । १६ वर्षदेखि ४५ वर्षसम्मका ५४ हजार दुई सय २९ जनाले टाइफाइड विरुद्धको खोप पाएको खड्काले बताउनुभयो ।
जिल्लामा दादुरा रुवेला खोप ४७ हजारलाई दिने लक्ष्य लिएकोमा लक्ष्य भन्दा बढी अर्थात् एक सय सात प्रतिशत बालबालिकाले खोप पाएका छन् । टाइफाइड विरुद्धको खोपमा भने लक्ष पुरा हुन सकेन । ७६ हजार लक्ष्य रहेकामा लक्षकाे ७१ प्रतिशत व्यक्तिले खोप लगाएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका धेरै व्यक्ति अध्ययन तथा रोजगारीको लागि जिल्ला बाहिर रहेकाले टाइफाइड विरुद्ध खोपको लक्ष्य पुरा हुन नसकेको उहाँको भनाई छ ।
खोप अभियान जिल्लाका ६ वटै पालिकामा स्वास्थ्य शाखाहरूको समन्वयमा सञ्चालन गरिएको थियो । भकूम्प प्रभावितलाई लक्षित गरेर सरकारले जाजरकोट, रुकुम पश्चिम सहित कर्णालीका सात जिल्लामा खोप अभियान चलाएको हो ।