Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० मा विविध खेलकुद प्रतियोगिता हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० खर्सुपानीमा यस वर्ष पनि माघे सङ्क्रान्तिको अवसरमा विविध खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । पुस २५ गते देखि माघ १ गतेसम्म सहिद कामी बुढा विजय छहरा युवा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको हो । सामाजिक सद्भाव र सांस्कृतिक महत्त्व बोकेको पापिनी मेलामा साबिक खुल्ला वडा स्तरीय पुरुष भलिबल, रस्साकस्सी, घैँटो फोर, भाले तान्ने, लोक दोहोरी र एकल नृत्य प्रतियोगिता आयोजना गरिएको सहिद कामी बुढा विजय छहरा युवा क्लबका सचिव सरोज सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ५२ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो स्थान प्राप्त गर्ने समूहले ३२ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै तेस्रो स्थान प्राप्त गर्ने समूहले नगद २१ हजार सहित कप,मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क भने तीन हजार पाँच सय रहेको छ । रस्साकस्सी प्रतियोगिताको प्रथम पुरस्कार तीन हजार , दोस्रो पुरस्कार दुई हजार र तेस्रो पुरस्कार एक हजार पाँच सय रहेको छ ।

लोक दोहोरो प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई तीन हजार पाँच सय, दोस्रो स्थान प्राप्त गर्ने समूहलाई दुई हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई एक हजार पाँच सय पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै एकल नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई दुई हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई एक हजार पाँच सय र तेस्रो स्थान प्राप्त गर्नेलाई एक हजार पुरस्कार रहेको क्लबका सचिव सुनारले जानकारी दिनुभयो । भाले तान्ने व्यक्तिले दुई हजार बराबरको रातो भाले प्राप्त गर्नेछ ।

घैँटो फोर प्रतियोगितामा विजेता हुनेले एक हजार पाँच सय पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । उद्घाटनका दिन विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने समूहलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update