Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीका एक सय सात जना भूमिहीनले प्राप्त गरे जग्गा प्राप्तिको निस्सा 
त्रिवेणीका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिँदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुले निस्सा प्राप्त गरेका छन् । पालिकामा रहेका एक सय सात जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले निस्सा प्राप्त गरेका हुन् । गाउँपालिकाको कार्यालयमा खारानेटामा आइतबार एक कार्यक्रमका बिच २३ जना भूमिहीन दलित, २ जना सुकुम्वासी र ८२ जना अव्यवस्थित लाभग्राहीलाई निस्सा प्राप्तको प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्दै आएका व्यक्तिले निस्सा प्राप्त गर्नु भनेको जग्गा प्राप्तिको लागि पहिलो आधार हो । ‘भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आउनुभएका व्यक्तिहरूले जग्गा पाउँ भनेर निवेदन पेस गर्नु गर्नुभएको थियो । सोही निवेदनका आधारमा उहाँहरूलाई जग्गा प्राप्तिको लागि निस्सा वितरण गरेका छौँ । अव दोस्रो चरणमा उहाँहरूले दाबी गरेको जग्गा नाप जाच गर्छौँ र तेस्रो चरणमा सबै प्रक्रिया पुगेकाहरूलाई लालपुर्जा वितरण गर्छौँ ’ उहाँले भन्नुभयो । 

तर जग्गा प्राप्तिको लागि दाबी विरोधको सूचनामा लाभग्राहीको नाम निश्चित भएर आउनुपर्ने हुन्छ । दाबी विरोधमा लाभग्राहीको नाम निश्चित नभएमा भने जग्गा प्राप्त गर्न नसक्ने विज्ञ सदस्य विष्टले जानकारी दिनुभयो । अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले जग्गा पाउने निश्चित भएमा सात हजार वर्ग मिटरसम्म जग्गा प्राप्त गर्न सक्ने छन् । भने भूमिहीन दलित तथा सुकुम्वासीले आवासको लागि तीन सय वर्ग मिटर र कृषिको लागि एक हजार वर्ग मिटर जग्गा प्राप्त गर्ने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार छनोटमा परेका लाभग्राहीहरूलाई भोग चलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँकै जग्गा दिने र त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णय अनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान प्रदान गरिने छ । भूमिहीन दलित तथा सुकुम्वासी हाल भाडाको घर तथा अर्काको घरमा बस्दै आएका छन् । 

जिल्लामा एक हजार आठ सय भन्दा बढी भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुले जग्गाको लागि निवेदन दिएको बताइएको छ । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको निस्सा वितरण कार्यक्रम जिल्लाका छ वटै स्थानीय तहहरूमा सञ्चालन गरिने अध्यक्ष ओलीले जानकारी दिनुभयो । निस्सा वितरण कार्यक्रम त्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय सहजिकरण समितिका संयोजक गणेशकुमार केसीको अध्यक्षतामा भएकाेमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै विज्ञ सदस्य विष्ट, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, दश वटै वडाका वडा अध्यक्ष लगायत राजनीतिक दलका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update