रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वीरेन्द्र माध्यमिक विद्यालय बाँफिकोटको प्राङ्गणमा आज शिल्डको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको वीरेन्द्र माविले गाउँपालिकालाई आजै शिल्ड हस्तान्तरण समेत गरेको छ । गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र उपाध्यक्ष तारा बुढा केसीले संयुक्त रूपमा शिल्ड ग्रहण गर्नुभयो । शिल्ड फिर्ता नगर्ने गरी लिनका लागि लगातार तीन पटक जित्नु पर्छ ।
पौष २६ गतेसम्म सञ्चालन हुने शिल्डमा गाउँपालिका भित्रका दश ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । शिल्डमा छात्र, छात्रा भलिबल, छात्र छात्रा कबड्डीका साथै एथलेटिक्स तर्फ विभिन्न दुरीको छात्र छात्रा दौड, उफ्रने र फ्याँक्ने तर्फ छात्र छात्र हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सट फुट खेलमा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ । प्रमुख अतिथि गौतमले विद्यार्थीहरूका लागि शिल्ड महत्त्वपूर्ण रहेको बताउनु भयो । शिल्डले विद्यार्थीहरूमा लुकेर रहेको आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न सहयोग पुग्ने उहाँ भनाई थियो ।
गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाप्रसाद ढकाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रसाद पुन मगर, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्का, १० वटै वडाका वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।