Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू द्वारा भूकम्प प्रभावित क्षेत्रमा भौगोलिक अवस्थाको अनुगमन गर्न माग 

 

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूको समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालयलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । आज सङ्गठनले भूकम्प प्रभावित क्षेत्रका नागरिकको समस्याको समाधान गर्न विभिन्न माग राख्दै निमित्त  प्रमुख जिल्ला अधिकारी  प्रवेश बढुवाललाई ज्ञापन पत्र बुझाएको हो ।

गत कात्तिक १७ गते राती जाजरकोटको रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएकाे दुई महिना बितिसक्दा पनि अस्थायी आवास निर्माण सुस्त, पहिलो किस्ता नपाएको जस्ता समस्या देखिएकाले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी आवास निर्माणमा भएको ढिला सुस्तीलाई कम गरी छिटोभन्दा छिटो निर्माणलाई पूर्णता दिन र हालसम्म केही लाभग्राहीले सरकारले पठाएको अनुदान रकमको पहिलो किस्ता समेत नपाएकाले तत्काल उपलब्ध बनाउन माग गरिएको छ ।

त्यस्तै भूकम्प प्रभावित क्षेत्रका विभिन्न बस्तीमा तत्काल भूगोलविद् मार्फत भौगोलिक अवस्थाको निरीक्षण तथा अनुगमन गरिनुपर्ने, प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि दीर्घकालीन रूपमा पुनः निर्माणका लागि तत्काल सरकारी मापदण्ड र कार्यविधि लागु गर्नुपर्ने लगायतका माग राखिएको छ । भूकम्प प्रभावित क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम तथा स्थानान्तरण, रोजगारी र अल्पकालीन लघु कार्यक्रम सञ्चालन गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

हालसम्म अस्थायी आवास निर्माणको काम नसकिएकाले भूकम्प पीडित चिसोबाट थप प्रभावित बनेकाले यस तर्फ पनि ध्यान दिन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update