Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न विद्यालयलाई सहयोग प्राप्त 

रुकुम पश्चिमका विभिन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न व्यक्तिहरूले विद्यालयलाई सहयोग गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका व्यक्तिहरूले शिल्डमा सहभागीताका लागि विद्यालयलाई खेल पोसाक सहयोग गरिरहेका छन् । 

मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता मावि खलङ्गालाई दक्षिण कोरियाबाट तीन जना पूर्व विद्यार्थीले जनही १०÷१० हजारका दरले गरी खेल पोसाकका लागि ३० हजार सहयोग गरेका छन् । यसबाट विद्यार्थीहरूका लागि खेल पोसाकको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सरस्वती मावि सल्लेलाई पनि विद्यालय पोसाकका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको छ । विद्यालयका पूर्व शिक्षक मोहन ओलीले अमेरिकाबाट विद्यालय पोसाक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड पौष २५ गतेबाट सुरु हुँदै छ । यसैबिच बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धार्थ मावि मग्मालाई पनि शिल्डमा सहभागिताका लागि खेल पोसाक सहयोग प्राप्त भएको छ । 

लामो समय शिक्षण पेसामा रही हाल अमेरिकामा रहनुभएका सोही वडाका गोर्ख कुसारीले खेल पोसाकका लागि ४० हजार ८ सय ४७ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नदीराम केसीले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update