Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती ज्ञानोदय माविले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्याे 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीले हात पारेको छ । पालिका भित्रका १२ वटा विद्यालयलाई पछि पार्दै ज्ञानोदय माध्यमिक विद्यालयले शिल्ड हात पारेको हो । उसले ११ स्वर्ण, ४ रजत र ३ कांस्य गरी जम्मा १८ पदक सहित शिल्ड हात पारेको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । यो सँगै राप्ती ज्ञानोदयले लगातार दोस्रो पटक शिल्ड जितेको छ ।

४ स्वर्ण, ४ रजत र १ कांस्य गरी ९ पदक प्राप्त गरेर जनप्रिय माध्यमिक विद्यालय हाँसिबाङ दोस्रो भएको छ । त्यस्तै ३ स्वर्ण, ५ रजत र ८ कांस्य गरी १६ पदक जितेर सूर्योदय माध्यमिक विद्यालय बेल्टापु तेस्रो स्थान प्राप्त गर्दा ३ स्वर्ण प्राप्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारले सान्तवना स्थान प्राप्त गरेको छ । विद्यार्थीहरूले भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

गत वर्षमा शिल्ड जितेको ज्ञानोदय माध्यमिक विद्यालयले यस वर्ष पनि शिल्ड जित्न सफल भएको छ । पुस १९ गतेदेखि ३ नम्बर वडाको वेल्टापु रङ्गशालामा सञ्चालन भएको शिल्ड आज सकिएको हो । त्रिवेणी गाउँपालिकाले यस अघि शिल्ड सञ्चालन गरिसकेको छ । भने बाँफिकोटमा आजबाट सुरु भएको छ । अन्य पालिकाहरूले पनि रनिङ शिल्ड सञ्चालनको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update