सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा राहत सामग्री सहयोग गरेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले आज जिल्ला प्रशासन कार्यालय मार्फत पीडितलाई पुग्ने गरी राहत हस्तान्तरण गरेका हो ।
सोसाइटीमा आबद्ध सदस्यहरूबाट सङ्कलन भएको रकमबाट राहत सामग्री उपलब्ध बनाएको सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रका भूकम्प पीडितलाई जाडो समयमा थोरै भए पनि सहज होस भनेर ३० वटा कम्बल हस्तान्तरण गरिएको हो ।
उक्त कम्बल प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तर गरिएको उहाँले जानकारी दिनुभयो । राहत सामग्री तीस हजार बराबरको रहेको संस्थाले जनाएको छ । संस्थाका आजीवन सदस्य तथा चौरजहारी सडक डिभिजन प्रमुख तेजस्वी शर्माको सहजिकरणमा जिल्ला प्रशासन कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।