Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु 
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापकाे उद्घाटन गर्दै मुसिकाेट नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ नम्बरको सिमानामा पर्ने ट्याखोला खेल मैदानमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सुरु भएको हो । कार्यक्रमको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । 

मुसिकोट नगरपालिका, नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको शिल्डमा मुसिकोट नगरपालिकाका १९ वटा विद्यालय र अतिरिक्त क्रियाकलापमा नगरका ६५ वटै विद्यालयहरूको सहभागिता रहेको छ । विद्यार्थीहरूका बिचमा छात्र छात्रा भलिबल, कबड्डी, विभिन्न दुरीका दौड, रिले दौड, मार्सल आर्ट, उफ्रने र फ्याँक्ने तर्फ सट फुट, हाइ जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो लगायतका विभिन्न ५२ विधामा प्रतिस्पर्धा हुने नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

शिल्डमा कक्षा १ देखि १२ सम्मका १८ वर्ष मुनिका खेलाडीहरू सहभागी छन् । शिल्ड तथा अतिरिक्त क्रियाकलाप आगामी माघ १ गतेसम्म सञ्चालन हुने बताइएको छ । मुसिकोटमा अघिल्लो सरकारको पालामा एक पटक मात्र शिल्ड सञ्चालन भएकामा नयाँ जनप्रतिनिधि आएको दोस्रो वर्ष दोस्रो शिल्ड आयोजना गरिएको हो । 

राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप सञ्चालन समितिका संयोजक तथा बालकल्याण मावि सोलावाङका प्रअ भक्तबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

समितिका सदस्य तथा बालकल्याण मावि झुल्खेतका प्रअ गोविन्द ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य तथा ज्ञानोदय मावि लहुँ भलाक्चा प्रअ खम्बुसिंह श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update