रुकुम पश्चिम र रुकुम पूर्वमा नेपाल टेलिकमले पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्याएर एनटी फाइबर नेटको सेवा शुभारम्भ गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यबाट सेवाको उद्घाटन गरेसँगै रुकुम पश्चिम र रुकुम पूर्वमा एनटी फाइबर सेवा वितरण सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै मन्त्री शर्माले रुकुम पश्चिम र पूर्वमा एनटी फाइबर नेट जोड्न पाउँदा खुसी लागेको बताउनुभयो । यी दुई जिल्लामा सेवा सुरु भएसँगै देशका ७४ जिल्लामा नेपाल टेलिकमको द्रुत गतिको एनटी फाइबर सेवा पुगेको र अब बाँकी रहेका तीन जिल्ला हुम्ला, मुगु र डोल्पामा पनि सेवा पुर्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस अघि सल्यानको शितपाटीसम्म मात्र नेपाल टेलिकमको फाइबर नेट सेवा पुगेको थियो । त्यहाँबाट करिब एक सय किलोमिटर लामो दुरीमा नेपाल टेलिकमको फाइबर नेटको सेवा पुर्याउनु महत्त्वपूर्ण उपलब्धि रहेको मन्त्री शर्माले बताउनुभयो । सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य रहेको उहाँको भनाई थियो ।
रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताउनुभयो । अव दुर्गमका गाउँ गाउँमा समेत नागरिकलाई नेपाल टेलिकमको फाइबर सेवा दिनुपर्ने उहाँको भनाई थियो ।
यो सँगै रुकुम पश्चिम र पूर्वमा नेपाल टेलिकमको फाइबर सेवा वितरण समेत सुरु भएको छ । सेवाग्राहीले नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा उपभोग गर्न सुरु भइसकेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम २५ एमबीपीएस देखि एक सय ५० एमबीपीएससम्म इन्टरनेट सेवा ग्राहकले लिन पाउने छन् ।
न्यूनतम २५ एमबीपीएसको लागि वार्षिक आठ हजार पाँच सय र एक सय ५० एमबीपीएसको लागि वार्षिक २० हजार पाँच सय सुल्क लाग्ने प्रमुख शर्माले बताउनुभयो । इन्टरनेट सहित टिभी र फोनको समेत सुविधा रहेको उहाँको भनाई छ ।