रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार र आसपासका विभिन्न ठाउँमा जडान गरिएका सडक बत्ती एक वर्ष नहुँदै बिग्रन थालेका छन् । केही बत्ती बले पनि केही बत्ती बल्न छोडेका छन् । रातको समयमा बजार आसपासको क्षेत्र उज्यालो बनाउनको लागि सोलार बत्ती जडान भए पनि केही स्थानका सडक बत्ती नबल्दा विद्युत् लाइन नभएको समयमा समस्या (अँध्यारो) हुने गरेको मुसिकोट १ खलङ्गामा बस्दै आउनुभएका करण विकले गुनासाे गर्नुभयाे । कोठा नजिकै सडक बत्ती भए पनि विगत २ महिनादेखि बल्न छोडेको उहाँले जानकारी दिनुभयो ।
‘जडान भएपछि केही महिनासम्म बत्ती बल्यो, त्यसपछि बल्न छोडेपछि मर्मत गरिएको थियो, फेरी बिग्रिएपछि भने मर्मत भएको छैन’ विकले भन्नुभयो । केही ठाउँमा मर्मत पछि बल्न सुरु गरे पनि केही ठाउँमा अझै सडक बत्ती मर्मत गरिएकाे छैन । बत्ती बल्न छोडेका ठाउँमा मर्मतको काम भने भइरहेको छ । बत्ती जडान गरेको एक वर्षसम्म ठेकेदारकै जिम्मा हुने भएकाले बत्ती बल्न छोडेका ठाउँमा मर्मत गर्न लगाएको मुसिकोट नगरपालिका प्रवक्ता समिरजङ मल्लले जानकारी दिनुभयो ।
गत वर्षको माघ महिनामा मुसिकोट नगरपालिका १ खलङ्गा बजार, तल्लो बजार, बराहटाकुरा, झोलुङ्गे पुल, कालिका स्थान देखि त्रिभुवन जनता मावि, राप्ती लोक मार्ग अन्तर्गत हुलाक देखि त्रिवेणी चोक बागबजार लगायतका ठाउँमा ४० वटा सडक बत्ती जडान गरिएको थियो । बजारको शान्ति सुरक्षा र रातकाे सुन्दरतालाई ध्यानमा राखेर नगरपालिकाले पहिलो चरणमा ४० वटा सोलार सडक बत्ती जडान गरेको थियो ।
उक्त बत्ती जडान गर्न नगरपालिले ४९ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । तर कोबाल्ट ईन्जिनियरिङ्गले ३० लाख २८ हजार ४५० रुपैयाँमा ठेक्का पारेको थियो । दोस्रो चरणमा सेरिगाउँ र मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने सेरिगाउँ सडक खण्डमा २५ वटा सडक सोलार बत्ती जडान गरिएको थियाे ।