रुकुम पश्चिममा गाई भैँसीलाई सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा गाई भैँसी पालक किसानलाई गाई भैँसी सुत्केरी भए बापतको प्रोत्साहन भत्ता वितरण गरिएको हो । पालिकाभर पाँच सय १२ किसानलाई गाई तथा भैँसी सुत्केरी प्रोत्साहन भत्ता प्रदान गरिएको सानीभेरी गाउँपालिका पशु शाखा प्राविधिक भूपेन्द्र पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभर चार सय ७८ जना किसानले पालेका पाँच सय १२ गाई भैँसीलाई ३ हजारका दरले १५ लाख ३६ हजार रुपैयाँ किसानको खातामा भुक्तानी गरिएको छ । गत वर्ष रकम अभावले भुक्तानी गर्न नसकिएको र दायित्वमा रहेकाले यस वर्ष किसानलाई रकम उपलब्ध बनाइएको शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।
सुत्केरी पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउन सहज होस भनेर किसानलाई प्रोत्साहन रकम उपलब्ध बनाइएको उहाँले बताउनुभयो । यो कार्यक्रमले सुत्केरी गाई भैँसीलाई पौष्टिक आहारमा टेवा पुर्याउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षकै कार्यक्रम अन्तर्गत मासु तथा दूध उत्पादनमा पनि किसानलाई अनुदान रकम उपलब्ध बनाएको छ ।
पालिकाभर २५ हजार चार सय ३६ केजी मासु उत्पादन भएकामा प्रति केसी ५० का दरले १२ लाख ७१ हजार आठ सय किसानको खातामा पठाइएको हो । त्यस्तै पालिकामा तीन हजार चार सय ८५ लिटर दूध उत्पादन भएकामा प्रति लिटर पाँचका दरले १७ हजार चार सय ३० किसानको खातामा पठाएको पशु शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।