Kakhara सबैको खबर सम्पूर्ण खबर
कविताः देशभित्र देखेको देश

माड्साप
पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरूलाई 
कहिल्यै नभनिदिनुहोस् - देश पृथ्वीको विभाजित अंश हो !
भन्नुभयो भने 
उनीहरूले सिक्न सक्छन्
क्रमशः विभाजित गर्न स्वयं आफू, परिवार, समाज र देशलाई

कतै पदयात्रामा निस्कनुभयो भने तपाईँ  
जब देख्नुहुन्छ 
बाटोबाटै विभाजित भएर बनेका दोबाटाहरू
क्षणभरमै बिथोलिन सक्छ तपाईँको अविच्छिन्न यात्रा 
र सङ्कटमा पर्छ सुदूर गन्तव्य

हो त्यसरी नै माड्साप
जुनसुकै बेला अवरुद्ध हुन सक्छ देशको गतिशील पाइला

कुनै बगैँचामा पुगे भने उनीहरू
नसोध्नुहोस्
एउटै बगैँचामा फुलेर कसरी विभक्त भए यी फूलहरू ?
या हेरे भने आकाश 
नसोध्नुहोस्
एउटै आकाशमा रहेर कसरी विभाजित भए यी ताराहरू ?

था'छ माड्साप ?
आगो झोस्न उनीहरूको कलिलो मस्तिष्कमा 
तपाईँको केवल एउटै प्रश्न पनि पर्याप्त हुन सक्छ
बरु बुझाउनुहोस्
फरक फरक देखिन सक्छ देशभित्रबाट पनि देश
जसरी फरक देखिन्छ
खण्डहर समयको अन्तरामा बाँचिरहेको आफ्नै अनुहार

पढाउँदा उनीहरूलाई 
सधैँ विचारभन्दा माथि देश हुन्छ पढाउनुहोस्  
थाहै छ  
यहाँ विचारहरूबाटै पनि विभाजित भएका छन् विचारहरू
जब विचारमुनि पर्छ देश
आगो ओकलेर सडकमा उभिन आइपुग्छ देश विरुद्ध जुलुस
यस्तो देखिन्छ कि - त्यहाँ देश विरुद्ध देश छ

नेपालको इतिहास सुनाउँदा उनीहरूलाई
भनिदिनुहोस्
इतिहास भनेको प्रायः लिखित दस्ताबेजहरूको पुनर्लेखन हो
र विजेतालाई इतिहासमा धेरै लेखिन्छ  
नत्र लेखिनुपर्ने थियो
पराक्रमी पृथ्वीनारायण शाहको सट्टा  
आफ्नै राज्य त्यागेर आत्मसमर्पण गर्ने रणजीत मल्लको इतिहास

बरु बताउनुहोस् 
उनीहरूलाई जस्तो कि- घर पनि आफैँ बन्दैन
बनाइन्छ 
तपाईँलाई थाहै छ माड्साप
आँगनमा बिस्कुन झैँ छरिएका स-साना राज्यहरूलाई जोडेर 
बनाइएको हो - देशको सग्लो मानचित्र
यहीँ माटोमा बगेको हो
पुर्खाहरूको निधारबाट अलिखित पसिनाहरूको जम्मै बुँद

जसरी एउटी आमाले जोगाउँछिन्
आफू नासिएर भए पनि आफूभित्र हुर्कँदै गरेको शिशुलाई
हो त्यसरी देश जोगाउनुपर्ने 
अबको अभिभारा तिनै कलिला मस्तिष्कहरूको काँधमा छ 
जसलाई 
तपाईँले बारम्बार विभाजित हुन उक्साइरहनुभएको छ
 
माड्साप
मैले तपाईँलाई पूजापाठ गर्ने आफ्नै भगवान् माने पनि
या आस्था राख्ने आफ्नै धर्म ठाने पनि
म कसरी विश्वास गरूँ
तपाईँले भने जस्तै-देश भनेको पृथ्वीको विभाजित अंश हो !

याे कविताले पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयाेजना गरेकाे राष्ट्रिय कविता प्रतियाेगितामा प्रथम हुँदै १ लाख नगद पुरस्कार जित्न सफल भएकाे छ।

यस कविताका लेखक उमेश पुन रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर ११ स्यावाङ घर भई हाल काठमाडाैंमा BSC चाैंथाे वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँले यसअघि लेखेकाे कविता यसैवर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले आयाेजना गरेकाे राष्ट्रिय कविता प्रतियाेगितामा उत्कृष्ट १० मा पर्दै नगद पुरस्कार जितिसकेकाे छ । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update