Kakhara सबैको खबर सम्पूर्ण खबर
जनधारा बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कर्णबहादुर 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको जनधारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा कर्णबहादुर खत्री चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको तेस्रो साधारण सभाले खत्रीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । 

जसको उपाध्यक्षमा प्रकाश खत्री, सचिवमा बालकृष्ण गौतम र कोषाध्यक्षमा लक्ष्मी केसीलाई चयन गरिएको छ । रामसिंह परियार, धनजित खत्री र ललिता नाथलाई सदस्यमा चयन गरिएको छ । साधारण सभा मार्फत सहकारीको निवर्तमान सञ्चालक समितिलाई सम्मान सहित बिदाइ गरिएको छ । 

साधारण सभा उद्घाटन समारोहमा सहकारीका निवर्तमान सचिव यामबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार १३ लाख ६५ हजार पाँच सय आठ रुपैयाँको कारोबार गरेको सहकारीले नौ लाख ९४ हजार दुई सय ५० रुपैयाँ खर्च गरेको छ, भने तीन लाख ७१ हजार दुई सय ५८ रुपैयाँ नाफा देखिएको छ । 

६० जना शेयर सदस्य रहेको सहकारीमा साधारण सदस्य ६ सय १४ जना रहेका छन् । सहकारी सञ्चालनमा आए देखि हालसम्म एक करोड ५९ लाख १८ हजार ६ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष डिलबहादुर नाथको अध्यक्षतामा भएको साधारण सभामा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल कृषि सहकारी समितिका प्रशिक्षक चन्द्रबहादुर राई, २ नम्बर वडा अध्यक्ष प्रकाश खत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update