Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको १४ औँ राष्ट्रपति रनिङ शिल्ड माघ १६ देखि सानीभेरीमा 
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आज बसेको बैठक ।

रुकुम पश्चिमको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १६ गते देखि हुने भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन सल्लाहकार समितिको आज बसेको बैठकले शिल्ड माघ १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो । शिल्ड जिल्लाको सानीभेरी गाउँपालिकाको बेलटापु खेल मैदानमा हुने छ । 

जिल्लाको चौरजहारीमा भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापनका बेला नै सानीभेरी गाउँपालिकाले १४ औँ शिल्ड आयोजना गर्ने गरी झन्डा ग्रहण गरेको थियो । सोही अनुसार यो वर्षको शिल्ड सानीभेरी गाउँपालिकामा हुने यस अघि नै निश्चित भइसकेकोमा आजको बैठकले मिति तय गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । 

पालिका स्तरीय शिल्डबाट छनौट भएका विद्यार्थीहरूले जिल्ला स्तरीय शिल्डमा प्रतिस्पर्धा गर्ने छन् । शिल्डमा कक्षा १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउने कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तर्गत ट्र्याक तर्फ विभिन्न दुरीको छात्र छात्रा दौड, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ छात्र छात्रा हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो र सट फुट तथा मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो र उसुका विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने छ । 

जिल्ला स्तरीय शिल्डबाट कर्णाली प्रदेश स्तरीय शिल्डका लागि विद्यार्थी छनौट गरिने छ । यो वर्ष जिल्लाका सबै स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्दै छन् । जिल्लामा रहेका कम्तीमा पनि आधा स्थानीय तहले शिल्ड सञ्चालन गरेमा जिल्ला स्तरीय शिल्ड आयोजना गर्ने प्रावधान छ । 

यसअघि स्थानीय तहले शिल्ड आयोजना नगर्दा जिल्ला स्तरीय शिल्ड नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । सङ्घीयता पश्चात् तेस्रो पटक जिल्ला स्तरीय शिल्ड आयोजना हुँदै छ । 

समग्रमा १२ औँ तथा सङ्घीयता पछिको पहिलो शिल्ड जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालन भएको थियो भने त्यसपछि गत वर्ष चौरजहारी नगरपालिकामा जिल्ला स्तरीय शिल्ड सञ्चालन भएकामा यो वर्ष सानीभेरी गाउँपालिकामा शिल्ड सञ्चालन हुन लागेको कार्यालय प्रमुख ढकालले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन सल्लाहकार समितिका संयोजक लुम्बिनी गौतमको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, आठबिसकोट नगरपालिका प्रमुख रबि केसी, चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, आयोजक सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको आतिथ्यता रहेको थियो । 

त्यस्तै बैठकमा आठबिसकोट नगरपालिका उप प्रमुख धनकुमारी शाही, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष गोविन्द ओली लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update