रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ को एक परिवारलाई मलेसियाबाट सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामै रहेका लालु रावतको परिवारलाई ५८ हजार नौ सय एक रुपैयाँ सहयोग प्राप्त भएको हो । गत कार्तिक १७ गते गएको भूकम्पका कारण उहाँको घर भत्किएको थियो भने त्यसको केही समय पछि बुवा तुलवीर रावतको मृत्यु भएको थियो ।
दुःखमा रहेको लालुको परिवारलाई उहाँ कार्यरत क्यु आई फिस मिल कम्पनीमा कार्यरत व्यक्तिहरूले सहयोग उठाएर पठाइदिएका हुन् । मुसिकोट नगरपालिका वडा नम्बर १ का प्रेमप्रकाश बोहरा, सुभाष केसी, बाँफिकोट गाउँपालिका ९ का धनबहादुर ओली, देवबहादुर बुढामगर र त्रिवेणी गाउँपालिका ८ का सुनिल सार्कीले जनही दुई सय एक मलेसियन रिङ्गेट सहयोग गर्नुभएको हो ।
त्यस्तै कम्पनीमा कार्यरत अन्य व्यक्तिहरूले पनि सहयोग गरेको बताइएको छ । दुःखमा परेको परिवारलाई थोरै भए पनि आर्थिक रूपमा सहयोग पुगोस् भनेर सकेको सहयोग उठाएर पठाएको सहयोग सङ्कलक मध्येका एक प्रेम बोहराले जानकारी दिनुभयो । उक्त रकम मुसिकोट १ का डम्बर थापा मार्फत परिवारलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो ।