माघी पनि मगर समुदायको विशेष पर्व हो । जिल्लामा अधिकांश बसोबास मगर समुदायको छ । मगर समुदायको ठुलो पर्व भूम्या अर्थात् बल पूजा पछिको ठुलो पर्व माघी हो । यो माघीमा छोरी–चेली पुज्ने चलन छ । भालेको डाको सँगै उठ्यो । घरमा भएका चेली–बेटीलाई पुज्यो । बिहान ४ बजेर उठेर निराहार रही घरका अविवाहित चेली–बेटीलाई पुजेपछि माघे सङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ । विशेष गरी दाजुभाइले दिदीबहिनीलाई पुज्ने, लत्ता कपडा तथा उपहारहरू दिने गर्दछन् ।
घरका चेली–बेटीलाई पूजि सकेपछि उनीहरू छरछिमेक गाउँका अरू चेली–बेटीलाई पुजेपछि अरू सामूहिक कार्यक्रम हुन्छन् । जिल्लाका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाको मगर बस्तीमा माघे सङ्क्रान्ति मनाउने तरिका हो यो । पौष मसान्तका दिन राँगा तथा खसी, बोका काटिन्छ, सखरखण्ड तथा अरू कन्दमूल पकाएर राखिन्छ । माघ १ गतेको बिहानै चेली–बेटी पुजिन्छ । घरकी चेली–बेटी पुज्ने काम सबभन्दा पहिला हुन्छ । घरका छोरी–चेली नपुजी यो दिन अरू कुनै काम सुरु हुँदैन ।
पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै र भूमे गाउँपालिकाका अधिकांश वडामा माघे संक्रान्ति अर्थात् माघी यसै गरी मनाइन्छ । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिकाका केही वडामा तिहारको सट्टामा माघे सङ्क्रान्ति दिन चेली–बेटीलाई पुज्ने र सम्मान गर्ने गरिन्छ । यो पुरानै चलन भएको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका विकास पुन मगरले बताउनुभयो । चेली–बेटी पुजिसकेपछि गाउँमा तिर हान्ने प्रतियोगिता सुरु हुन्छ ।
धनुषवान् मार्फत हरेक टोलमा तिर हान्ने प्रतियोगिता सुरु हुने पुन बताउँनुहुन्छ । तिर हान्ने प्रतियोगिताका लागि स्थानीय युवाहरूले एक महिना अघिदेखि नै सहयोग सङ्कलन गरेका हुन्छन् । विजेतालाई पुरस्कृत गर्ने तथा खर्च व्यवस्थापनको लागि भनेर टोल टोलमा गएर गीत गाएर तथा नाचेर सङ्कलन गरिएको सहयोगले तिर हान्ने प्रतियोगिता समापन गरिन्छ । तारो हान्ने भनेको स्थानीय भाषामा अस्तासिन्या हो ।
हरेक वर्षको माघ महिनाको पहिलो दिनदेखि सुरु हुने यो ‘अस्तासिन्या’ ७ दिन सम्म चल्छ । यो वर्ष पनि अस्तासिन्या सुरु भइसकेको छ । मगर खाम भाषामा ‘अस्तासिन्या’को अर्थ तारो अर्थात् तीर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसीयालीमा परापूर्वकालदेखि नै तारो हान्न सुरु भएको मानिन्छ ।
पुथाउत्तरगंगा–१ देखि ४ नम्बर वडाका हरेक नो पालो परेको दिन ‘अस्तासिन्या’ रफ्टाेलमा अस्तासिन्या गरिन्छ । हरेक टोलले ‘अस्ताकोला’ खाम भाषामा ‘अस्ताकोला’ भनेको (तारो राखिएको स्थान) भन्ने बुझिन्छ । आ–आफ्नाे टोलबाट‘ अस्तासिन्या’को लागि ‘अस्ताकोला’मा राखिने रातो कपडा, रिबन र ऐनाको व्यवस्था गर्छन् । ‘जुन टोलमा तारो हान्नुपर्ने हो, त्यही टोलले तारो बनाउने प्रचलन छ ।
‘अस्तासिन्या’ र ‘अस्ताकोला’को लागि रातो कपडा, रिबन र ऐना इष्टपट्टिका चेली वा कुलकै चेलीबाट माग्ने प्रचलन छ । दाजुभाइ र दिदी बहिनीको सम्बन्ध प्रगाढ बनाउने पर्वको रूपमा माघी पर्वलाई लिइने भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । सिस्ने गाउँपालिका भने फरक तरिकाले माघी सङ्क्रान्ति मनाउँछन् । कन्दमूल खाने, छोरी चेली माइती घर जाने तथा बिहान बिहानै केटाकेटीहरू घरघर डुलेर जुनेलाको खाजा तथा कन्दमूल मागेर खाने चलन छ ।