Kakhara सबैको खबर सम्पूर्ण खबर
२३ स्वर्ण सहित त्रिजमाविले उचाल्यो मुसिकोटको राष्ट्रपति रनिङ शिल्ड 
शिल्डमा सहभागि त्रिभुवन जनता माविका विद्यार्थी । फाेटाे: कखरा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन जनता मावि खलङ्गाले जितेको छ । वडा नम्बर ४, ६ र ११ को सिमाना ट्याखोला खेल मैदानमा भएको शिल्ड २३ स्वर्ण पदक सहित वडा नम्बर १ को त्रिजमाविले उचालेको हो । उसले २३ स्वर्णका साथ तीन रजत र आठ कांस्य पदक गरी कुल ३२ पदक जितेको छ ।

नगरपालिकाका १९ वटा मावि मध्य १८ वटाले प्रतिस्पर्धा गरेको शिल्डमा गत संस्करणको विजेता वडा नम्बर १३ को महेन्द्र मावि चौतारा भने उपविजेता बनेको छ । उसले सात वटा स्वर्ण पदक जित्न सक्यो । चौताराले सात रजत र पाँच कांस्य पदक जितेको छ ।

तेस्रो भएको जनकल्याण मावि काँसपोखरीले ६ स्वर्ण, पाँच रजत र १० कांस्य गरी कुल २१ पदक जितेको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समितिका सदस्य डिल्ली डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ५२ इभेन्टमा विद्यार्थीहरू बिचमा प्रतिस्पर्धा भएको थियो ।

छात्र छात्रा भलिबल, कबड्डी, विभिन्न दुरीका दौड, रिले दौड, मार्सल आर्ट, उफ्रने र फ्याँक्ने तर्फ सट फुट, हाइ जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो मा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको उहाँले बताउनुभयो । पौष २५ गतेदेखि सुरु भएको शिल्ड माघ १ गते सम्पन्न भएको हो ।

नगर प्रमुख अतिरिक्त क्रियाकलाप भने जारी छ । अन्य क्रियाकलाप सकिएको र फुटबल बाँकी रहेको बताइएको छ । अतिरिक्त क्रियाकलापमा भने नगरका ६५ वटै विद्यालयको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update