Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्पादन र मूल्य दुवै वृद्धि, रुकुम पश्चिमका किसानले बेचे साढे चार करोड बढीको सुन्तला 

रुकुम पश्चिममा यस वर्ष सुन्तला उत्पादन सँगै मूल्यमा पनि वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवैमा वृद्धि भएको हो । जिल्लामा कृषकले यस वर्ष सुन्तला राम्रो फलाएको र सुन्तलाले मूल्य पनि राम्रो पाएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्लामा यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले चार करोड ६० लाख आम्दानी गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रति केजी २५ देखि ३० रुपैयाँ सम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रति केजी ४० देखि ६० रुपैयाँ सम्ममा सुन्तला बिक्री भएको छ । जिल्लामा विशेष गरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । 

त्यस्तै अन्य पालिका मुसिकोट, आठबिसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाँफिकोट गाउँपालिकामा पनि सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । थोरै उत्पादन गर्ने किसानहरूको लागि सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने कृषकहरूलाई यो वर्ष बजारको समस्या नरहेको उहाँको भनाई छ । 

सुन्तला खरिदको लागि व्यापारी किसानको बारीमै पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान, नेपालगन्जसम्म जाने गरेको छ । तर थोरै उत्पादन गर्ने किसानलाई भने डोकोमा बोकेर बजारसम्म लिएर बिक्री गर्नुपर्ने बाध्यता रहको छ । जिल्लामा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसाने वार्षिक ८ देखि नौ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।  

Suntala Bari1701337472.png

जिल्लामा व्यावसायिक सुन्तला खेती गर्ने त्यस्ता किसानको सङ्ख्या जम्मा ८/१० जना मात्र रहेको छ । तर सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सय भन्दा बढी रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीको भनाई छ । पछिल्लो समय कृषि पेसाबाट किसानको आय स्तर वृद्धि हुनुका साथै हरेक कृषि बालीमा व्यावसायिक करण हुँदै गएको कृषि विकास कार्यालयको भनाई छ । 

कार्यालयले अनुदानको सट्टा किसानलाई बिक्री परिमाणको आधारमा प्रोत्साहन रकम उपलब्ध बनाउँदै आएकाले परिश्रम गर्ने किसानलाई थप उत्पादनमा जोडिन हौसला प्रदान भइरहेको र उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update