गत कार्तिक १७ गतेको भूकम्पले क्षति गरेको रुकुम पश्चिममा अस्थायी आवासका लागि पहिलो किस्ता निकासा अन्तिम चरणमा पुगेको छ । जिल्लामा हालसम्म २८ हजार ४३ लाभग्राहीका लागि जिल्लाबाट पहिलो किस्ता स्थानीय तहमा पठाइएको छ ।
जिल्ला विपत् न्यूनीकरण तथा व्यवस्थापन कोषबाट स्थानीय कोषमा ७० करोड ८९ लाख ५० हजार पठाइएको छ । प्रति लाभग्राही २५ हजारका दरले जिल्लामा सिफारिस भएका लाभग्राहीका लागि रकम पठाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।
स्थानीय तहमा पठाइएको सबै रकम भने लाभग्राहीलाई वितरण गरिएको छ । स्थानीय तहले ५५ करोड १६ लाख २५ हजार मात्र लाभग्राहीका लागि निकासा गरेका छन् । १५ करोड ७३ लाख २५ हजार रुपैयाँ भने स्थानीय तहमा थन्किएको छ । बाँफिकोट गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहले पहिलो किस्ता निकासा गरिरहेका छन् । बाँफिकोटमा भूकम्प गएको साढे दुई महिना पुग्दा पनि पहिलो किस्ता वितरण सुरु भएको छैन ।
अव जिल्लाबाट पहिलो किस्ता वितरणको काम करिब अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । स्थानीय तहबाट प्रक्रिया पुरा भएर आउने बित्तिकै जिल्लाबाट स्थानीय तहमा धमाधम रकम पठाइरहेको उहाँको भनाई छ ।
जिल्लामा करिब साढे ३० हजार लाभग्राही रहेको अनुमान गरिएको र सोही अनुसार अब जिल्लाबाट स्थानीय तहमा पहिलो किस्ता पठाउने क्रम करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
यसैबिच जिल्लामा हालसम्म १४ हजार ६ वटा अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार आठ हजार २७ वटा आवास भने निर्माणको क्रममा रहेका छन् ।