रुकुम पश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिकामा पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको उपस्थितिमा अन्तरक्रिया सुरु भएको हो । गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धी छलफल तथा सुझाव सङ्कलन गर्ने र सङ्घीय सरकारलाई सुझाव दिने उद्देश्यले आठबिसकोट नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम नगरपालिकाका दुई ठाउँ राडी र बाँकेजिउलामा हुँदै छ । अहिले राडीजिउलामा कार्यक्रम चलिरहेको छ । कार्यक्रममा नगरपालिकाका राजनीतिक दल तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । भोली सानीभेरी गाउँपालिकाका दुई ठाउँमा यो कार्यक्रम सञ्चालन हुँदै छ । भूकम्पले जिल्लाका आठबिसकोट र सानीभेरीमा ठुलो क्षति पुगेको छ ।