Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीले लुम्बिनीलाई हरायो 

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा कर्णालीले लुम्बिनीलाई ६४ रनले हराएको छ । तीव्र गतिका बलर दीनेश अधिकारी र स्पिनर दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णाली विजयी भएको हो । 

जितको लागि १ सय ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १ सय २४ रनमा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले ७७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । 

कर्णालीका अनुज चनाराले ७ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले ५.२ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । दिवान पुनले १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । कर्णालीका दीनेश अधिकारीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले ६९ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । 

लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले ३–३ विकेट लिए । मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए । कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने कर्णाली सुदूरपश्चिमसँग १ सय ३४ रनले पराजित भएको थियो । 

लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिमसँग दोस्रो खेलमा लुम्बिनी ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update