पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले सरकारले सहज कार्यविधि बनाएका कारण भूकम्प पीडित लाभग्राही कायम गर्न सहज भएको बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ को गिठाकोटमा आयोजित भूकम्प पछिको पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकार लचिलो बन्दा लाभग्राही कायम गर्न समस्या नभएको बताउनुभएको हो । ‘यदि सरकार जटिल भएको हुन्थ्यो भने हालसम्म पनि लाभग्राही कायम गर्न सकिने थिएन, लाभग्राहीले स्वघोषणा गर्ने र त्यसका आधारमा लाभग्राही कायम गर्ने गरी कार्यविधि आयो र यसले सहज बनायो,’ उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले २०७२ सालको जस्तो अनुदानले पुनर्निर्माण सम्भव नभएको बताउनुभएको छ । त्यति बेलाको अनुदानले अहिले पुनर्निर्माण सम्भव नभएको बताउँदै उहाँले त्यति बेलाको अनुभवका आधारमा कम्तीमा पनि दोब्बर बढी अनुदानको व्यवस्था गरेर जाजरकोट भूकम्पले क्षति गरेका संरचनाको पुनर्निर्माण हुनुपर्नेमा जोड दिनुभयो । पुनर्निर्माण गर्दा स्थानीयको रहनसहनलाई ध्यान दिनुपर्ने समेत उहाँले बताउनुभयो ।
‘पुनर्निर्माण भनेको मान्छेका लागि एउटा घर बनाउने मात्र होइन, हाम्रा आफ्नै रहनसहन छन्, आयआर्जनको स्रोत छ, उहाँले भन्नुभयो–त्यसका आधारमा पुनर्निर्माण गरिनुपर्छ, बस्तु भाउ बस्ने देखि अन्नपातको व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्छ ।’ साथै उहाँले पुनर्निर्माण सम्बन्धी मापदण्ड तत्काल ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । मापदण्ड आयो र भूकम्प प्रभावितलाई दिने अनुदान तोकियो भने छिटो पुनर्निर्माण सुरु गर्ने उहाँको भनाई छ ।
ढिलोमा दुई वर्षमा पुनर्निर्माण सक्नुपर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले बताउनुभयो । ‘यस वर्षको जेठसम्ममा पनि घर बनाउन सकिन्छ, अहिले नै सुरु गर्यौ भने यसै वर्ष पनि घर बन्न सक्छन् तर सबै घर दुई वर्षभित्रमा बनाउने गरी लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । यसका लागि स्थानीय सरकार, सरोकारवाला सहित सबै लाभग्राही लाग्नुपर्ने भनाई उहाँको छ ।
मौलिकतामा आधारित पुनर्निर्माण गरिनुपर्ने, भूकम्प प्रभावितलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र सिकर्मी, डकर्मीका लागि तालिम आयोजना गर्न पनि उहाँले सरकार समक्ष माग गर्नुभयो । भूकम्प पछिको पुनर्निर्माणका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले सानीभेरी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा सहित राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला तथा लाभग्राहीहरूको सहभागिता रहेको थियो । गाउँपालिकाका गिठाकोट र सिम्ली गरी दुई ठाउँमा कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्टले जानकारी दिनुभयो । बुधवार आठबिसकोट नगरपालिकाको आयोजनामा नगरका दुई ठाउँ राडी र बाकेजिउलामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।