रुकुम पश्चिमका चार ठाउँमा भूकम्पले क्षति गरेका संरचनाको पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया भएको छ । जिल्लाको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अन्तरक्रिया भएको हो ।
पुनर्निर्माण सम्बन्धी देखिएका भ्रमलाई चिर्न र सुझाव सङ्कलन गर्ने उद्देश्यले सम्बन्धित पालिकाको आयोजनामा अन्तरक्रिया भएको छ । आठबिसकोट नगरपालिकामा हिजो बुधवार भएको हो भने सानीभेरी गाउँपालिकामा आज बिहीबार अन्तरक्रिया भएको हो ।
आठबिसकोटको वडा नम्बर ९ र १४ तथा सानीभेरीको वडा नम्बर २ र ७ मा अन्तरक्रिया कार्यक्रम आयोजना गरी भूकम्प पछिको उद्धार, राहत, अस्थायी आवासका बारेका जानकारी गराइनुका साथै पुनर्निर्माण कसरी गर्दा उपयुक्त होला भनेर सुझाव सङ्कलन गरिएको छ ।
साथै पुनर्निर्माण सम्बन्धी विभिन्न जानकारी समेत गराइएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । दुवै स्थानीय तहमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व मन्त्री शर्माले पुनर्निर्माण र यसको आवश्यकताका विषयमा भूकम्प प्रभावितहरूलाई जानकारी गराउनुभएको थियो । स्थानीय मौलिकताका आधारमा पुनर्निर्माण हुनुपर्ने र आफू त्यसमा लागि परेको उहाँले बताउनुभएको थियो ।
भूकम्प प्रभावितले तत्काल पुनर्निर्माण सुरु हुनुपर्ने बताएका छन् । सानीभेरी गाउँपालिकाका अलबहादुर पुनले तत्कालै पुनर्निर्माण सुरु गर्नुपर्ने र पुनर्निर्माण सम्बन्धी विभिन्न गुनासाहरू रहेको भन्दै त्यसलाई सरकारले मेट्नुपर्ने बताउनुभयो ।
यो कार्यक्रमले पुनर्निर्माणका लागि दबाब सिर्जना गर्ने आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले बताउनुभयो ।