रुकुम पश्चिममा कृषि पेसालाई थप व्यवस्थित गर्न, व्यवसायीकरण तथा कृषकलाई उत्प्रेरणा जगाउन कृषि मेला प्रदर्शनी गरिएको छ । कृषकले उत्पादन गरेका विभिन्न कृषिजन्य उपजको कृषि प्रदर्शनी मेलामा प्रदर्शन गरिएको हो । जिल्लाका ६ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तह मुसिकोट, चौरजहारी नगरपालिका तथा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भइसकेको छ ।
तर भूकम्पले सबै भन्दा बढी क्षति गरेको आठबीसकोट नगरपालिकामा भने कृषि क्षेत्रमा पनि भूकम्पले थिलो थिलो पारेको र कार्यक्रम प्रभावकारी नहुने देखिएपछि कृषि मेला प्रदर्शनी गर्न नसकिएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । अन्य पाँच वटा स्थानीय तहहरूमा भने कृषकले उत्पादन गरेका विभिन्न कृषिजन्य बस्तुको प्रतिस्पर्धा बनाई उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको ६ वटा विधामा उत्कृष्ट छनोट गरी कृषकलाई पुरस्कृत गरिएको हो । कृषिजन्य उपज अन्तर्गत तरकारी बाली, फलफूल बाली, दलहन, तेलहन, विविध तथा रैथाने बाली, खाद्यान्न बाली, मसला तथा नगदे बाली उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको उहाँको भनाई छ ।
‘कृषि पेसालाई अगाडी बढाउन तथा कृषि पेसामा आबद्ध भएका किसानको मनोबल बढाउन तथा उत्प्रेरणा जगाउन पालिका स्तरमै कृषि प्रदर्शनी मेला आयोजना गरिएको हो । कृषि प्रदर्शनी मेलाबाट उत्कृष्ट भई पुरस्कृत भएका किसानलाई थप हौसला बढ्ने र अन्य सहभागी किसानलाई पनि थप उत्कृष्ट कृषि जन्य वस्तु उत्पादन गर्न प्रेरणा मिल्ने हामीले अपेक्षा गरेका छौँ ।’ उहाँले भन्नुभयो ।
प्रदर्शनी मेलाले कुन भूगोलमा कुन कृषिजन्य बस्तु उत्पादन हुन्छ भन्नेमा पनि ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो । आउँदा दिनमा सोही आधारमा कार्यालयले जहाँ जे उत्पादनको सम्भावना छ त्यही अनुसार किसानलाई सहयोग गर्ने निमित्त प्रमुख केसीले बताउनुभयो । कृषि प्रदर्शनी मेलाको लागि कार्यालयले प्रत्येक पालिकाको लागि १ लाखका दरले रकम विनियोजन गरेको थियो । भने यसमा चौरजहारी नगरपालिका बाहेक अन्य चार स्थानीय तह त्रिवेणी गाउँपालिकाले ५० हजार, बाँफिकोट र सानीभेरी गाउँपालिका तथा मुसिकोट नगरपालिकाले एक/एक लाखका दरले रकम विनियोजन गरेका थिए ।
एक सय २० कृषक पुरस्कृत
जिल्लाका पाँच वटा स्थानीय तहमा आयोजना गरिएको कृषि प्रदर्शनी मेलाबाट एक सय २० जना कृषक पुरस्कृत भएका छन् । किसानले उत्पादन गरेका विभिन्न ६ वटा कृषिजन्य विधामा एक सय २० कृषक पुरस्कृत भएका हुन् ।
प्रत्येक पालिकामा फरक फरक विधामा उत्कृष्ट कृषिजन्य उपज उत्पादन गरेको आधारमा २४ जना कृषकका दरले पुरस्कृत गरिएको हो । कृषि विकास कार्यालय सँग साझेदारी गरेका त्रिवेणी, सानीभेरी, र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकाका कृषकलाई प्रथम पुरस्कार चार हजार, दोस्रो पुरस्कार तीन हजार, तेस्रो पुरस्कार एक हजार पाँच सय र सान्त्वना पुरस्कार एक हजार सहित कृषकले प्रमाणपत्र प्राप्त गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।
यस्तै कृषि विकास कार्यालय सँग साझेदारी नगरेको चौरजहारी नगरपालिकाका कृषकले प्रथम पुरस्कार दुई हजार, दोस्रो पुरस्कार एक हजार पाँच सय, तेस्रो पुरस्कार एक हजार र सान्त्वना पुरस्कार सात सय ५० सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कृषि प्रदर्शनी मेलामा पाँच वटा स्थानीयहरूबाट जम्मा एक हजार दुई सय जना कृषकले सहभागिता जनाएका थिए ।
सोही मध्यबाट उत्कृष्ट कृषक छनोट गरी पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छनोट गरी पुरस्कृत गरिएको हो । कार्यक्रम प्रभावकारी हुँदै गएमा आगामी वर्षहरूमा पनि कृषि प्रदर्शनी मेलाको आयोजना गरिने कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।