Kakhara सबैको खबर सम्पूर्ण खबर
किर्तिमानी ओपनिङ साझेदारीको मद्तमा नेपालको शानदार जित 

ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा सुखद सुरुवात गरेको छ । टी–२० अन्तराष्ट्रिय खेलको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल र आसिफले आक्रामक सुरुवात दिलाए । ३० वलमा अर्धशतक पुरा गरेका कुशलले आसिफसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । 

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो । यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए । १३ औं ओभरको चौथो बलमा आउट भएका कुशलले ५ चौका र ५ छक्काको मदतमा ६२ रन बनाए ।

उनी आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल आएका थिए । उनसँग मिलेर नेपाललाई जिताउनु अघि आरिफले पनि अर्धशतक पुरा गरे । ३६ बलमा अर्धशतक पुरा गरेका उनी ५४ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल पनि १३ रनमा नटआउट रहेका थिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update