गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा हालसम्म साढे २६ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा ६ हजार एक सय ६५ र बाँफिकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतकाे रकम २५ हजार प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटै स्थानीय तहमा हालसम्म अस्थायी आवास निर्माण गर्न २५ हजारका दरले ६६ करोड ४३ लाख २५ हजार रकम निकासा भएकाे छ ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट भने २९ हजार चार सय ६ लाभग्राहीको लागि स्थानीय तह विपत् व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रकम पठाइएको उहाँले जानकारी दिनुभयो । अझै लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता पाउन बाँकी छ ।
जिल्लामा हालसम्म १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । भने सात हजार चार सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवाले जानकारी दिनुभयो । जिल्लामा लाभग्राहीको सङ्ख्या साढे तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुमान गरेको छ ।