रुकुम पश्चिममा आयोजित तेस्रो सिस्ने ट्रेल रेस प्रतियोगिताको पुरुष तर्फ मनकुमार रोका र महिला तर्फ लीला चलाउने प्रथम हुनु भएको छ । सिस्ने ट्रेल रेस कार्य समिति रुकुम पश्चिम र सिस्ने तेक्वान्दो डोजाङ्ग आठबिसकोट नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित रेस अन्तर्गत ४० वर्ष माथिका पुरुष तर्फ डिलाराम कुसारी र ३५ वर्ष माथिका महिला तर्फ धर्मिन्दा पुन मगर हुनुभएको छ ।
सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिमका अध्यक्ष नरेश पुनका अनुसार पुरुषका लागि १७ किलोमिटर र महिलाका लागि १२ किलोमिटर दुरी तोकिएको थियो । पुरुष तर्फ आठबिसकोट नगर पालिका ११ नम्बर वडाको सिम बजार देखि चिसापानी, डाँडागाउँ र नौलाकोट हुँदै राडीबजार सम्म र महिला तर्फ सिम बजार देखि चौर, चिसापानी हुँदै राडी बजारसम्मको रुट तय गरिएको थियो ।
उक्त रुटमा मनकुमारले निर्धारित दुरी एक घण्टा २१ मिनेटमा पार गर्दै पुरुष तर्फ प्रथम स्थान हासिल गर्नुभयो । एक घण्टा ३१ मिनेटमा दौड पुरा गरेका उमेश राई दोस्रो तथा एक घण्टा ३४ मिनेटमा दुरी पार गरेका दुर्गाराज बुढा तेस्रो हुनुभयो । एक घण्टा ३५ मिनेटमा दुरी पार गरेका शक्तिराम रोकाले सान्त्वना भएको बताइएको छ ।
यसै गरी महिला तर्फ निर्धारित १२ किलोमिटर दुरी एक घण्टा आठ मिनेटमा पार गर्दै लीला चलाउने प्रथम हुँदा मोती कुसारी एक घण्टा नौ मिनेटमा दोस्रो र दिपा बिक एक घण्टा ११ मिनेटमा तेस्रो र पूजा घर्ती एक घण्टा १४ मिनेटमा सान्त्वना हुनुभएको आयोजकले जनाएको छ ।
पुरुष प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीहरूलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार तथा महिला तर्फ क्रमशः २० हजार, १२ हजार, आठ हजार र चार हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको अध्यक्ष पुनले जानकारी गराउनुभयो ।
४० वर्ष माथिका पुरुष र ३५ वर्ष माथिका महिला तर्फ चार–चार किलोमिटर दुरी राखिएको थियो । ११ नम्बर वडाको सिम बजार देखि चौर, हुँदै राडी बजारसम्म दौडाइएको थियो । पुरुष तर्फ डिलाराम कुसारीले निर्धारित दुरी २१ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो ।
२२ मिनेटमा दौड पुरा गरेका खम्बे कुसारी दोस्रो, २३ मिनेटमा दुरी पार गर्दै अम्मर बहादुर बस्नेत तेस्रो र २५ मिनेटमा निर्धारित दुरी पार गर्ने भूपेन्द्र गिरीले सान्त्वना हुनुभएको छ ।
महिला निर्धारित दुरी २८ मिनेटमा पार गर्दै धर्मिन्द्रा पुन मगर प्रथम हुँदा विमला घर्ती मगरले २९ मिनेटमा दोस्रो स्थान हासिल गर्नुभयो । दिपा केसीले ३० मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । कार्यक्रमको सञ्चालन रतन शाहीले गर्नुभएको थियो ।