Kakhara सबैको खबर सम्पूर्ण खबर
केसीले लगाए माओवादी महासचिव गुरुङ माथि भूकम्प पीडितकाे राहतमा भ्रष्टाचारको आराेप (स्पष्टीकरण सहित)
माओवादी केन्द्रका महासचिव देव गुरुङ (दायाँ) र वैकल्पिक केन्द्रीय सदस्य गाेरखबहादुर केसी ( वायाँ) ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश)ले पार्टीका महासचिव देव गुरुङ माथि भूकम्प प्रभावितको राहतमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । भूकम्प प्रभावितका लागि चिनिया कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदार सँग मिलेर भ्रष्टाचार गरेको केसीको आरोप छ । राहत वितरणको नेतृत्व गरेर रुकुम पश्चिम र जाजरकोट पुगेकी चिनियाँ महिला माथि हातपात गरेको भन्दै पार्टीले केसीमाथि स्पष्टीकरण सोध्दै कारबाही पक्रिया अघि बढाएपछि पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै केसीले महासचिव गुरुङ आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचारको हिस्सेदार रहेको भन्दै छानबिनका लागि पार्टी र सरकारलाई आग्रह गर्नुभएको छ ।

पार्टीको पौष २८ गतेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । केसीले ६ पृष्ठको स्पष्टीकरण दिँदै महासचिव माथि नै भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै अनुसन्धानको माग गर्नुभएको हो । ‘ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन र यी एकाघरका नातेदार तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्, केसीले दिएको स्पष्टीकरणमा उल्लेख छ ।’

आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफू माथि प्रहार भएको उहाँको आरोप छ । ‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलार समेत रहेको भन्नुभएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठुला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो उहाँले भन्नुभएको छ ।’

आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफू माथि दुर्व्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पार्नुभएको छ । चिनिया महिलाले यस्ता मान्छेलाई किन भोट हालेको ? अब देखि यसलाई भोट नहाल्नु भनेपछि आफ्नो संस्थामा काम गर्ने मान्छे एक थप्पड हानेको र थप्पड प्रहार भएपछि मात्र आफूले थाहा पाएको भन्दै यसमा आफ्नो कुनै निर्देशन नरहेको स्पष्टीकरण केसीले दिनुभएको छ ।

आपसी छलफल, आत्म समीक्षा र माफी मागेपछि यो घटना स्थानीय प्रहरी चौकीमै मिलिसकेको, चिनिया महिलाले समेत त मेरो छोरा जस्तो हो, तेरो बोसको लागि तैँले मलाई हात हालिस् अब देखि यस्तो नगरेस् भनेर माफी समेत दिएको तर महासचिवको निर्देशनमा जबरजस्ती मुद्दा हाल्न लगाएर आफूलाई फसाउन खोजिएको केसीको जिकिर छ । उहाँले महासचिव गुरुङलाई ‘फन्टुस’को समेत संज्ञा दिनुभएको छ । साथै गुरुङलाई लखेटेर आफैँ महासचिव बन्न मन लागेको बताउनुभएको छ । 

केसीले दिएकाे स्पष्टीकरण

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update