रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएका मङ्गल वादीले मादल बिक्रीबाट घर खर्चको व्यवस्थापन गर्दै आउनुभएको छ । विगत ५ वर्ष देखि सिम्रुतुमा मादल बनाउने व्यवसाय गरिरहनुभएका वादीले यो पेसालाई निरन्तरता दिनुभएको छ । घर खर्च मात्रै होइन दसैँ तिहार जस्ता ठुला पर्वहरूमा लाग्ने खर्च मादल बिक्री गरेर जोहो गर्ने गरेको उहाँले बताउनुभयो । राप्ती राजमार्गको छेवैमा व्यवसाय सञ्चालन गरिएकाले पनि बजारको समस्या छैन ।
‘आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्ति समेत मादल किन्न आउने गर्छन् । दसैँ तिहारको बिचमा मादल बनाउन भ्याई नभ्याई हुन्छ बादीले भन्नुभयो-व्यवसाय सुरु गरेको ५ वर्ष भयो मादल बिक्री गरेरै वर्षमा दुई लाख देखि तीन लाखसम्मको आम्दानी हुने गरेको छ, दसैँ तिहार तथा अन्य घर खर्च कसरी टार्ने भन्ने चिन्ता छैन, बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरू आउँछन् ।’ अहिले उहाँको पसलबाट दमाहा, डमरु र मादल बिक्री भइरहेका छन् । एउटा मादल दुई हजार पाँच सय देखि २५ हजारसम्ममा बिक्री हुने गरेको छ । मादल बनाउने काठ लगायत अन्य सामग्री गाउँमै उपलब्ध हुने गरेकाले समस्या नरहेको वादीले बताउनुभयो ।
मादल बनाउने पेसामा वादीको दम्पती नै लागि परेको छ । मादलको बिक्री दसैँ तिहारको समयमा धेरै हुने गरे पनि अन्य समय कम हुने गरेको दम्पतीको भनाई छ । आफूले मात्रै मादलको माग धान्न सकेपछि एक जनालाई रोजगारी समेत दिएको उहाँले बताउनुभयो । कामदारको रूपमा मादल बनाउने पेसामा लाग्नु भएका ५६ वर्षीय गगन वादीले आफू यो पेसामा लागेपछि चाडपर्व लगायत अन्य खर्चमा सहज भएको सुनाउनुभयो ।
“विगत ५ वर्ष देखि मादल बनाउने पेसामा लागेको छु, यो पेसाले मलाई सन्तुष्टि मिलेको छ, दसैँ तिहार लगायत अन्य खर्च टार्न अरू कसैलाई गुहार गर्नुपर्दैन, वार्षिक काम गरेको १ लाख देखि डेढ लाख सम्म कमाई हुन्छ’’ उहाँले भन्नुभयो । यही पेसाले नै आफू पालिन र घर परिवार पाल्न सहज भएको उहाँले बताउनुभयो । व्यावसायिक रूपमा मादल बनाउने पेसामा लाग्नु भएका मङ्गलले वादी समुदायको जीवनस्तर माथि उकास्न तथा वादी समुदायहरूको व्यवसायलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले चासो देखाउनु पर्ने र आर्थिक रूपमा समेत सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
दलित तथा वादी समुदायको जीवनस्तर माथि उकास्न र आर्थिक रूपमा सम्पन्न बनाउन क्षमता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले चालू आर्थिक वर्षमा दश लाख बजेट विनियोजन गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दलित तथा वादी समुदायलाई सोही बजेटबाट सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।