बागलुङबाट मान्द्रो बिक्री गर्न व्यापारीहरू रुकुम पश्चिम आइपुगेका छन् । पाँच जनाको समूह बनाएर ढोरपाटन नगरपालिका ८ रन सीङ किटेनीका मान्द्रो व्यापारीहरू रुकुम पश्चिम आइपुगेका हुन् । करिब एक सय ५० भन्दा बढी मान्द्रो लिएर बिक्री गर्न रुकुम पश्चिम आइपुगेको ढोरपाटन नगरपालिका ८ रन सीङ किटेनीका ४१ वर्षीय व्यापारी होमबहादुर सुनारले बताउनुभयो । ‘बागलुङका प्राय गाउँमा मान्द्रो बनाइन्छ, त्यहाँ धेरै बिक्री नुहुने भएपछि मान्द्रो बिक्री गर्न यहाँ आएका हौ, बागलुङका गाउँमा घरघरै मान्द्रो बुन्छन्, त्यहाँ मूल्य पनि राम्रो जाँदैन त्यसैले पनि जिल्ला बाहिर बिक्री गर्न आउनुपर्छ’ उहाँले भन्नुभयो ।
केही मान्द्रो गाउँबाट खरिद गरेर ल्याएको र केही मान्द्रो आफैले निर्माण गरेर बिक्रीका लागि ल्याएको सुनारले बताउनुभयो । बाँस तथा चोयाबाट निर्माण गरिएको मान्द्रो बलियो हुने र अन्न (गेडागुडी ) सुकाउन प्रयोग गरिने उहाँले बताउनुभयो । विशेष गरी बागलुङको किटेनी र जलजलामा बाँस तथा चोयाबाट मान्द्रो बुन्ने गरिएको छ । सोही ठाउँका ६० वर्षीय लालबहादुर सुनारले आफ्नो मुख्य पेसा नै मान्द्रो बुन्ने तथा गाउँ गाउँमा गएर बिक्री गर्ने रहेको सुनाउनुभयो । विगत ४० वर्ष देखि मान्द्रोको व्यापार गर्ने गरेको उहाँको भनाई छ ।
‘मान्द्रो हेरेर दुई हजार पाँच सय देखि चार हजारसम्ममा बिक्री गर्ने गरेका छौँ, गाउँ गाउँमा पुर्याउँदा धेरै दुःख हुन्छ । कहिले काहीँ त बिक्री भएन भने फर्केर पनि आउनु पर्छ । बिक्री भयो भने राम्रै कमाई हुन्छ’ लालबहादुरले भन्नुभयो-‘बागलुङबाट गाडीमा रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गासम्म पुर्याए पनि गाउँ गाउँमा बिक्री गर्न बोकेर लैजानुपर्ने हुन्छ, त्यसमा बिक्री भएन भने त झन् समस्या हुन्छ, जिलै बिक्री भयो भने पनि हामीलाई चार पाँच दिन लाग्छ ।’
बागलुङबाट मान्द्रो बिक्री गर्न पहिले रोल्पा, म्यादी, पर्वत, रुकुम पूर्व, सल्यान, दाङ जाने गरिएको बताउँदै यस पटक भने रुकुम पश्चिम आएको लालबहादुरले सुनाउनुभयो । सबै मान्द्रो बिक्री भएमा तीन लाख देखि पाँच लाखसम्मको कारोबार हुने उहाँले बताउनुभयो । एउटा मान्द्रो तयार गर्न सामग्री जुटाउने देखि निर्माण सम्पन्न गरी सक्न कम्तीमा दुई देखि तीन दिनसम्म लाग्छ । मान्द्रो निर्माण गर्न चोयाको समस्या छैन, गाउँमै प्रशस्त निर्माण सामग्री पाइन्छ । तर स्थानीय उत्पादन र सिपलाई बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको भनाई छ ।