Kakhara सबैको खबर सम्पूर्ण खबर
यातायात कार्यालय चौरजहारीबाट ६ महिनामा साढे नौ सय लाइसेन्स जारी 

यातायात कार्यालय रुकुम पश्चिम चौरजहारीबाट साढे नौ सय वटा सवारी चालक अनुमति पत्र लाइसेन्स जारी भएको छ । लाइसेन्स जारी सेवा सुरु भएको ६ महिनामा कार्यालयबाट विभिन्न वर्गका नौ सय ५६ वटा लाइसेन्स जारी भएका हुन् । 

चौरजहारी यातायात कार्यालयबाट गत साउन २२ गते देखि लाइसेन्स जारी गर्ने प्रक्रिया सुरु भएको थियो । कार्यालय प्रमुख आनन्द चपाईका अनुसार हालसम्म मोटरसाइकल, स्कुटर, कार र अटो रिक्साको चालक अनुमति पत्र जारी भएका छन् । 

कार्यालयबाट ए के बि सी वर्गका लाइसेन्स जारी भइरहेको उहाँको भनाई छ । चौरजहारीमा कार्यालय स्थापना भएको लामो समयपछि सेवा सुरु भएको थियो भने सेवा सुरु भएको केही समय पछि लाइसेन्स जारी सेवा समेत सुरु भएको थियो । 

यसैबिच यातायात कार्यालय चौरजहारीले एक करोड २१ लाख २८ हजार दुई सय तीन रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी दर्ता, नवीकरण, जाँच पास, रुट परमिट, चालक अनुमति पत्र दस्तुर र नवीकरण लगायतबाट उक्त राजस्व उठेको कार्यालय प्रमुख चपाईले जानकारी दिनुभयो । 

त्यस्तै कार्यालयमा तीन सय बढी सवारी साधन दर्ता भएका छन् । चौरजहारीमा २०७६ साल भाद्र १२ गते यातायात कार्यालय स्थापना भए पनि तीन वर्षपछि २०७९ फागुन २१ गतेदेखि सेवा सुचारु भएको थियो ।।  

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update