Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अझै १३ हजार बढी अस्थायी आवास बन्न बाँकी 

रुकुम पश्चिममा अझै १३ हजार बढी अस्थायी आवास निर्माण गर्नुपर्ने देखिएको छ । गत कार्तिक १७ गतेको भूकम्पले क्षति गरेका ठाउँमा अस्थायी आवास निर्माण चलिरहेको छ । भूकम्प गएको तीन महिना पुग्नै लाग्दा जिल्लामा अझै ठुलो सङ्ख्यामा अस्थायी आवास निर्माण गर्नुपर्ने देखिएको हो । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्ने हो भने रुकुम पश्चिममा १३ हजार ६० भूकम्प पीडितको बास त्रिपालमुनि नै रहको देखिन्छ । जिल्लामा २९ हजार चार सय ६ लाभग्राही पहिचान भएकामा हालसम्म १६ हजार ३ सय ४६ लाभग्राहीको मात्र अस्थायी आवास निर्माण भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । 

उहाँका अनुसार लाभग्राही पहिचान भएका अझै १३ हजार ६० लाभग्राहीको लागि अस्थायी आवास निर्माण गर्न बाँकी रहेको छ । जसमा सात हजार ४ सय ९७ वटा अस्थायी आवास भने निर्माणको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । 

जिल्ला विपत् व्यवस्थापन कोषबाट अस्थायी आवास निर्माणका पहिलो किस्ता बापत २५ हजारका दरले स्थानीय विपत् जोखिम न्यूनीकरण कोषमा ७३ करोड ५१ लाख ५० हजार रकम पठाइएको छ । स्थानीय विपत् कोषबाट भने २६ हजार पाँच सय ७३ लाभग्राहीले २५ हजारका दरले ६६ करोड ४३ लाख २५ हजार रुपैयाँ पहिलो किस्ता पाएको सहायक प्रजिअ बढुवाले जानकारी  दिनुभयो । 

अझै लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ लाभग्राहीले अस्थायी पहिलो किस्ता पाउन सकेका छैनन् । अस्थायी आवास निर्माण सम्पन्न भए पनि अझै पहिलो किस्ता समेत पाउन नसकेको सानीभेरी ३ का भुवन ओलीले गुनासो गर्नुभयो । 

उहाँका अनुसार  बैङ्क खाता सञ्चालनमा समस्या भएपछि अस्थायी आवासको पहिलो किस्ता प्राप्त गर्न मुस्किल भएको हो । पहिलो किस्ता प्राप्त गरेमा अस्थायी आवास निर्माण गर्दा लागेको खर्च व्यवस्थापन गर्न सजिलो हुने उहाँको भनाई छ । 

हालसम्म सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार चार सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० वटा अस्थायी आवास निर्माण भएका छन् । 

त्यस्तै चौरजहारी नगरपालिकामा तीन हजार तीन सय ५४, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ८२, त्रिवेणी गाउँपालिकामा दुई हजार २६ र बाँफिकोट गाउँपालिकामा नौ सय ३१ अस्थायी आवास निर्माण भएका छन् । जिल्लामा लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले लाभग्राही सङ्ख्या अझै बढ्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update