Kakhara सबैको खबर सम्पूर्ण खबर
अब चौरजहारीबाटै नागरिकता 
उद्घाटन कार्यक्रम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो । इलाका प्रशासन कार्यालय वडा नम्बर २ को रुकुमे गाउँमा स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्व मन्त्री शर्माले अव चौरजहारीवासीलाई नागरिकता, राहदानी लगायत प्रशासनबाट हुने कामको लागि जिल्ला सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । सङ्घीयताको मर्म अनुसार चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको उहाँको भनाई छ ।

कार्यालय उद्घाटन भए पनि व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा फर्निचर, कम्प्युटर, सिआई एम एस जडान, कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापनको काम गर्न बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता, नाबालक परिचय पत्र, विभिन्न प्रकारका सिफारिस लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । 

421756159_7718463518183315_1877904261517033202_n1705918372.jpg

प्रमुख जिल्ला अधिकारीको अख्तियारीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा इलाका प्रशासन कार्यालयबाट प्रवाह गरिने इलाका प्रशासन कार्यालय चौरजहारीले जनाएको छ । कार्यालय व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने देखिए पनि जति सक्यो छिटो सेवा प्रवाह गर्ने गरी लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख विशाल शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update