रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा पापीनी मेलाको अवसरमा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । परम्परागत रूपमा लाग्दै आएको पापीनी मेलाका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम हुने गरेका छन् । जसअनुसार यो वर्ष पनि साबिक मध्य पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा पर्ने वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय हाम्रो सरोकार नामक संस्थाले आयोजना गरेका कार्यक्रमहरू बिहीबारबाट सुरु भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले भलिबल सहितका कार्यक्रमको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले अनुशासनलाई कायम गर्नुपर्ने अहिलेको सबैभन्दा ठुलो आवश्यकता रहेको बताउनुभयो । समाजका हरेक क्षेत्रमा उछृंखलता बढ्दै गएको भन्दै अनुशासन कायम गर्नुको विकल्प नरहेको र यसको नमुना खेलकुदबाट प्रस्तुत गर्नुपर्नेमा उहाँको जोड थियो ।
मुसिकोट ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौतमको प्रमुख र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा स्थानीय झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।
भलिबलमा विभिन्न ठाउँका २० बढी टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि खेलहरू भने आज देखि सञ्चालन हुने आयोजक समितिका प्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार पुरस्कार पाउँदा उप विजेताले ७५ हजार र तृतीय हुनेले नगद ४१ हजारका साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना हुने टिमले नगद ३१ हजार, मेडल र प्रमाणपत्र पाउने विकले बताउनुभयो ।
प्रतियोगितामा व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने बताइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र प्रशिक्षकले तीन तीन हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट डिफेन्डर, वेस्ट क्विकर र उदयमान खेलाडीलाई नगद दुई/दुई हजारले पुरस्कृत गरिने विकले बताउनुभयो ।
यसैबिच उद्घाटन कार्यक्रममा आयोजक र नेपाली सेनाको चण्डी दल गण सल्लेका बिचमा मैत्रीपूर्ण भलिबल भएको थियो । उक्त खेलमा सेनाको टोली ३–१ ले विजयी भएको बताइएको छ । पापीनी मेला हरेक वर्षको १४, १५ र १६ गते लाग्ने गर्दछ । यो मेला धार्मिक तथा सांस्कृतिक हिसाबले निकै महत्त्व रहेको स्थानीयको भनाई छ ।