राप्ती राजमार्ग अन्तर्गत पर्ने रुकुम पश्चिमका विभिन्न सडक खण्डहरू स्तरोन्नतिको कामले तीव्रता पाएको छ । राजमार्ग अन्तर्गत जिल्लाका विभिन्न तीन ठाउँमा सडक स्तरोन्नतिका काम जारी छ । यसअघि मुख्य सडक खण्ड अन्तर्गत पर्ने राजमार्गको स्तरोन्नति नहुँदा यातायातका साधनलाई समस्या हुने गरेको थियो । राप्ती राजमार्ग अन्तर्गत पर्ने मुसिकोट नगरपालिका ४ सोलावाङ देखि मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्ने सितलपोखरीसम्म सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बस चालक रिमबहादुर पुनले बताउनुभयो ।
उक्त सडक खण्डमा सडक चौडा, मोड सुधार र कालोपत्रे गरिएकाले यातायातका साधनलाई सहज भएको बस चालक पुनले बताउनुभयो । ‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै आवतजावत गर्न मिलेको छ, उहाँले भन्नुभयो ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको जलेखर्क देखि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोटको झक्ते खोलासम्म १० किलो मिटर, रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलावाङ देखि सितलपोखरीसम्म ६ किलोमिटर र सोलावाङ देखि भित्री सडक खण्ड राउखेतसम्म ६ किलोमिटर गरेर २२ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार काम सञ्चालन भएका तीन वटै ठाउँमा सडक कालोपत्रे, मोड सुधार र आवश्यकता अनुसार सडक खण्डमा चौडा बनाउने काम भइरहेको छ । राप्ती राजमार्गमा अन्तर्गत पर्ने सल्यानको जलेखर्क देखि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न कन्टेक निर्माण सेवा प्रालिले २१ करोडमा सम्झौता गरेको छ ।
उक्त सडक खण्डको काम २०७८ साल चैत १७ गतेदेखि सुरु भएको हो । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन चौरजहारीका प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त सडक खण्ड २०८१ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने समय अवधि रहेको छ । त्यस्तै राप्ती राजमार्ग अन्तर्गत पर्ने मुसिकोट नगरपालिका ४ सोलावाङ देखि भित्री सडक खण्ड राउखेतसम्म ६ किलोमिटर सडक खण्डकको पनि कालोपत्रेको काम धमाधम भइरहेको छ ।
२०७९ फागुनदेखि यति विल्डर्सले सडक निर्माणको काम सुरु गरेको थियो । उक्त सडककाे हालसम्म ७० प्रतिशत भौतिक प्रगति देखिएको छ । यो खण्डका लागि २१ करोडमा जिम्मा पाएको निर्माण कम्पनीले आगामी वर्षको भदौ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने छ । जिल्ला सदरमुकाम नजिक समेत रहेको मुसिकोट नगरपालिका ४ सितलपोखरी देखि सोलावाङसम्मको ६ किलोमिटर सडक खण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तार जाली लगाउने काम जारी छ ।
उक्त सडक खण्डको निर्माण गर्न प्यागोडा निर्माण कम्पनीले ६ करोडमा ठेक्का लिएको छ । यो खण्डको ५० प्रतिशत भौतिक प्रगति छ भने २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने समय सीमा रहेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।