रकम गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा हालसम्म २७ हजार बढी लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका २७ हजार ३६ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ८ सय ५८ लाभग्राहीले पहिलो किस्ता बापत रकम प्राप्त गरेका हुन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ५४ र बाँफिकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ६७ करोड ५९ लाख रकम लाभग्राहीले प्राप्त गरेका छन् ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट भने २९ हजार चार सय ६ लाभग्राहीको लागि स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार पठाइ सकिएको । जिल्लामा अझै दुई हजार बढी लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी छ । जिल्लाबाट निकासा भए पनि स्थानीय तहले दुई हजार तीन सय ७० लाभग्राहीलाई पहिलो किस्ता निकासा गर्न बाँकी छ ।
त्यस्तै जिल्लामा हालसम्म १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । भने ६ हजार नाै सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।