Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बेलटापुमा सुरु

रुकुम पश्चिममा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ बेलटापु खेलमैदानमा आजबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो । शिल्डको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले  गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले खेल क्षेत्रलाई अगाडी बढाउन प्रदेश सरकार लागिरहेको बताउनुभयो । हरेक क्षेत्रको खम्बा विद्यार्थी नै भएकाले खेल क्षेत्रमा पनि जिल्ला स्तरीय मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा  प्रतिस्पर्धा गर्ने खेलाडी जिल्लाबाटै  उत्पादन हुनुपर्ने उहाँको भनाई थियो  ।

आजबाट सुरु भएको शिल्ड १८ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास रुकुम पश्चिमका सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो  । उहाँका  अनुसार जिल्ला स्तरीय रनिङ शिल्डमा छात्र छात्रा भलिबल एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय मिटर  दौड प्रतियोगिता हुनेछन् । त्यस्तै एक हजार पाँच सय र तीन हजार मिटर छात्र छात्रा दौड सञ्चालन हुनेछन्    ।

हाई जम्प, लङ जम्प , त्रिपल जम्प ,ज्याभलिङ थ्रो, सट फुट, तेक्वान्दो, कराते, चार बाइ एक सय मिटर र चार बाई चार सय मिटर रिले दौड र छात्र छात्रा कबड्डी प्रतियोगिता सञ्चालन हुने कार्यालय सचिव ढकालले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका ६ वटै स्थानीय तहको सहभागिता रहेको छ । शिल्डबाट छनोट भएका विद्यार्थीले आगामी फागुन सात गतेबाट हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी जनाउन पाउने छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष गोविन्दप्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, उप प्रमुख देवबहादुर विक, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, मुसिकोट नगरपालिका उप प्रमुख विमलकुमार पुन, चाैरजहारी उप प्रमुख इश्वरी शर्मा बिएम, आठबिसकाेट उपप्रमुख धनकुमार शाही, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सानिभेरी गाउँपालिका उपाध्यक्ष कमला राेका पुन, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update